खरसाङ: तीनधारेको राजबारीमा सुस्वास्थ्य केन्द्रको निर्माणको लागि शिलान्यास गरिएको छ। तीनधारेको राजबारीमा सुस्वास्थ्य केन्द्र भाँडामा सञ्चालित थियो भने अब यहाँ जीटीएबाट सुस्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएको छ। उक्त सुस्वास्थ्य केन्द्रको शिलान्यास तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट गरिएको छ। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता राजबारी जनसेवा संघको सभापति महेन्द्र तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सभासद नवराज छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ ईञ्जिनियरिङ विभागका एई रिवाज बसेल, सुप्रेम छेत्री, सूर्यनारायण प्रधान, पञ्चायत सदस्य दावा दोर्जे लामा लगायत स्वास्थ्यकर्मीहरु, आशाकर्मीहरु र आँगनवाडीका सदस्याहरु उपस्थित रहेका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे खण्ड समितिको सचिव अनिल राईले सञ्चालन गरेका थिए। तीनधारेको राजबारीमा जीटीएबाट सुस्वास्थ्य केन्द्रको निर्माण गर्न लागेकोमा स्थानीयहरुका पक्षमा राजबारी जनसेवा संघको सभापति महेन्द्र तामाङले पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले यस सुस्वास्थ्य केन्द्रको निर्माणले स्थानीयहरुलाई धेरै सुविधा हुने भएको जानकारी गराएका छन्।










