पिढित उपभोक्ताहरुद्वारा न्यायको गुहार
खरसाङ: तीनधारेमा एउटा ब्यांकको शाखाको रुपमा सीएसपी सञ्चालन गर्दै आइरहेको अश्विन थापाले उपभोक्ताहरुको करौडौं रुपियाँ झिकेर भागेको घटना प्रकाशमा आएको छ भने आज पिढीत उपभोक्ताहरुले न्यायको माग गर्दै मिडिया समक्ष गुहार माग्दै अघि आएका छन्। तीनधारे निवासी अश्विन थापाले तीनधारे लगायत वरिपरिका ब्यांक उपभोक्ताहरुको विभिन्न खाताहरुबाट लगभग एक करोडभन्दा बढी रुपियाँ निकालेर भागेको जानकारी प्रकाशमा आएको छ। उनकोमा तीनधारे लगायत वरिपरिका क्षेत्रहरू तीनधारे, चियाबारी, गैरी गाउँ, नयाँ कमान, सिपाहीधुरा, नरबुङ, जोगमाया लगायतका ब्यांक खाताबाट करोडौं रुपियाँ निकालेर बेपत्ता भएको जानकारी प्राप्त भएको छ। उक्त विषयमा पिढीत बनेका तीनधारे निवासी ममता गुप्ता, गैरी गाउँ निवासी मनिता ब्राह्मण, तीनधारे गोलाई पाखा निवासी शिला प्रधान, तीनधारेको शंकरनिवास निवासी युवराज छेत्री लगायत अन्यहरु उपस्थित भएर आफुहरुको ब्यांक खाताबाट करोडौं रुपियाँ निकालेर अश्विन थापा भागेको जानकारी गराएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै चारैजनाले उनी गत १९ दिसम्बरदेखि नै हराएको र सबैको पासबुक पनि उनीसित नै रहेको बताएका छन्। आरोप छ कि थापाले सबै उपभोक्ताहरुको फिंगर प्रिन्ट गराएर पैसा निस्केन साथै आधार लिंक भएको छैन कि त केवाईसी गर्नुपर्छ भन्दै सबैको खाताबाट पैसा निकालेको जानकारी पाइएको छ। उनले एकजनाको खाताबाट ५-१९ हजारदेखि ६ लाखसम्म रुपियाँ निकालेको आरोप छ। यस विषयमा उपभोक्ताहरुले तीनधारे पुलिस आउट पोष्टमा पुगेर जानकारी गराएको बताएका छन् भने यतिको समयसम्म पनि केही नभएपछि सबै पिढीतहरु भेला भएर रुपियाँ पाउनको लागि पहल गर्नु पर्ने र यसको लागि पिढित सबै उपभोक्ताहरु एक अघि आउनु पर्ने निवेदन ममता गुप्ता, गैरी गाउँ निवासी मनिता ब्राह्मण, तीनधारे गोलाई पाखा निवासी शिला प्रधान, तीनधारेको शंकरनिवास निवासी युवराज छेत्रीले गरेका छन्। चारैजनाले यति ठूलो रकम लिएर भागे पनि अहिलेसम्म कहीबाट केही पहल नभएको भन्दै यसको लागि पिढीत सबै उपभोक्ताहरु एक भएर अघिल्लो कार्य गर्नु पर्ने आह्वान् गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै एकजना पिढीत ममता गुप्ताले जस जसको ब्यांक खाताबाट रुपियाँ निकालेर भागेको छ पिढीतहरु सबै अघि अघि आउनु पर्ने आह्वान् गरेका छन्। उनले सबैजना निस्केर अघि आएपछि एकबध्द भएर काम गर्नुपर्छ साथै सबैजना एसबीआई ब्यांकको खरसाङ शाखामा गएर प्रबन्धकसित भेट गर्नुपर्ने बताइन्। यसै क्रममा तीनधारेको गैरी गाउँ निवासी मनिता ब्राह्मणले विगत १९ दिसम्बर २०२५ मा अश्विन थापा भागेको र यस विषयमा पुलिसमा गएको तर केही भएन भनी बताएकी छन्। उनले आफुले दु:ख गरेर कमाएको पैसा त्यसै छोड्नु भएन भनी बताउँदै आफुले गाई बाख्रा पालन गरेर साथै लक्ष्मी भण्डारको पैसा गरेर एक लाख रुपियाँसम्म निकालि दिएको जानकारी गराएका छन्। उनले उनीसित धेरैजनाको पासबुक रहेको र अहिलेसम्म पासबुक पनि नपाएको बताइन्। यसै क्रममा तीनधारेको गोलाई पाखा निवासी शिला प्रधानले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै आफुले १६ दिसम्बरमा रुपियाँ डिपोजिट गर्न दिएको तर ले भयो थाहा छैन र लिंक छैन भन्दै तेतिकै रुपियाँ नदिएको आरोप छ। उनले आफुहरुले विश्वास गरेर पासबुक दिएको तर अहिले आएर सबै पैसा निकालेर लगिदिएको र यसको लागि सबै पिढीत उपभोक्ताहरु एकबध्द भएर अघि आउनु पर्ने कुरामा जोड दिएकी छन्। तेस्तै प्रकारले तीनधारेको शंकरनिवास निवासी युवराज छेत्रीले तीनधारे चियाबारीमा स्थायी श्रमिक रहेकी आफ्नी पत्नीको पासबुक आरोपीसित रहेको र आफ्नो कति रुपियाँ झिकेको छ त्यो पासबुक पाएर इन्ट्री गरेर मात्र थाहा हुने बताएका छन्। उनले आफुहरुले विस्वास गरेर नै पासबुक दिएको हो। तर जस जसको पासबुकबाट रुपियाँ निकालेको छ ती सबै पिढीतहरु अघि आएर एकबध्द भएर अघि बढ्न पर्ने सुझाव राखेका छन्। युवराज छेत्रीले पिढीतहरु सबै एक भएर पुलिसमा र ब्यांकमा गएर भेटघाट र सोधपुछ गर्नु पर्ने र लिखित रुपमा काम गर्नु पर्ने पनि सुझाव दिएका छन्। उल्लेखनीय छ, तीनधारे निवासी अश्विन थापाले धेरैजना उपभोक्ताहरुको ब्यांक खाताबाट करोडौं रुपियाँ निकालेर भागेका छन् र अहिलेसम्म कति रुपियाँ र कतिजनाको खाताबाट पैसा निकालेको छ त्यो सबैजना अघि आएपछि थाहा हुने भएको छ।









