खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि सिविटारसम्म पुग्ने प्रधानमन्त्री ग्राम सडक योजनाको रोड मरमत्तिको कार्य चलिरहेको छ। हालमा उक्त रोडको मरमत्ति अन्तर्गत अलकत्र बिछ्याउने कार्य भईरहेको छ। तीनधारेको गोलाई पाखादेखि सिविटारको बाघमारा बस्ती हुँदै तितिरी खेल मैदानसम्म लगभग ५ किलोमिटरको लामो रोड मरमत्तिको कार्य चलिरहेको छ। तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको अवस्था अत्यन्तै जीर्णावस्थामा पुगेको थियो जसले गर्दा स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो। स्थानीयहरुको असुविधालाई ध्यानमा राखेर धेरै पर्खाईपछि हालमा मरमत्तिको कार्य चलिरहेको छ। केही समय अघिदेखि यो रोड मरमत्तिको कार्य चलिरहेको छ भने बिहीबारदेखि सुविटारको तितिरी खेल मैदान क्षेत्रदेखि अलकत्र बिछ्याउने कार्य शुरु गरिएको छ। यस रोडमा अलकत्र बिछ्याउने कार्य शुरु गरिएकोले स्थानीयहरुलाई गाडी नकुदाई दिने अनुरोध गरिएको छ। अलकत्र बिछ्याउने कार्य भईरहेकोले सिविटारबाट चल्ने गाडीहरु बिहान ९ बजीभित्र निस्कनु पर्ने साथै बेलुका आईदिने पनि अनुरोध गरिएको छ। यसको साथै आपतकालीन सेवाको गाडीहरुलाई भने छुट दिइने बताइएको छ। यसको साथै यस रोडको मरमत्तिको कार्य चलिरहेको कारणले यो रोडमा चल्ने गाडीहरुलाई वैकल्पिक मार्गको प्रयोग गरिदिने निवेदन पनि गरिएको छ। सिविटारसम्म आउने गाडीहरु महानदी भएर आउन सक्ने र सिविटारको शिवखोला र बाघमारा बस्ती शउन परेमा तीनधारे भएर आउन सकिने पनि जनाइएको छ। यस रोडको मरमत्तिको कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको उप सभापति कुसाङ लामाले तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको मरमत्तिको कार्य चलिरहेको छ र यस क्षेत्रमा चल्ने गाडीहरुलाई बिहान समयमै चलाई दिने र बेलुका फर्किदिने अनुरोध गरेका छन्। उनले यो रोडको जीर्णावस्थालाई हेरेर जीटीए प्रमुख अनित थापाको निर्देशनमा मरमत्तिको कार्य शुरु गरिएको र स्थानीयहरुको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।

लामाले यस रोडको मरमत्तिको कार्य गुणस्तरीय हुनु पर्ने विषयमा स्थानीयहरुले पनि निरीक्षण गर्नु पर्ने आह्वान् गरेका छन्। उनले तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको मरमत्तिको साथै महानदीदेखि सिविटारसम्म पुग्ने रोडको पनि मरमत्तिको कार्य चलिरहेको बताएका छन्। उनले यसको साथै सिविटारको गैरी गाउँदेखि तितिरी खेल मैदानसम्म पुग्ने रोडको पनि चाढै मरमत्ति गरिने भएको जानकारी गराएका छन्।











