खरसाङ: राती परेको पानीले आज बिहान तीनधारेको सत्र क्षेत्रमा रहेको राष्ट्रिय राजमार्ग जलमग्न भएको थियो। यस क्षेत्रमा प्रत्येक वर्ष बर्खा लाग्नसाथ सडकभरि पानी जमेर गाडीहरु, बाइक, स्कुटी कुदाउन असुविधा हुनको साथै मानिसहरु पैदल हिँड्न पनि धेरै असुविधा हुने गर्दछ। यस्तै परिस्थिति आईतबार बिहान पनि तीनधारेको सत्र माइल क्षेत्रमा देखा परेको थियो। सडक किनारमा पानी बग्ने नाला व्यवस्थित नभएकोले साथै यहाँ सडक केही तल धस्किएकोले पानी उकालो बग्न नसकेर यहाँ पानी जमिने गरेको देखिएको स्थानीयहरुले बताएका छन्। यहाँ सडकमा पानी जमिनुभन्दा पनि यस क्षेत्रमा पानीझरीमा पैह्रो जाने आशंकाले स्थानीयहरुलाई सताउने गरेको छ। आईतबार बिहान यहाँको सडकमा निक्कै बेसी पानी जमेर गाडीहरु बाइक स्कुटी कुदाउन साथै मानिसहरुलाई हिँड्न धेरै असुविधा भईरहेको देखिएको थियो। यस असुविधालाई हरेर दिउँसो जेसीबीको माध्यमले पानी हटाउने कार्य गरिएको छ। अहिले जमेको पानी सके पनि फेरि ठूलो पानी परे पुन: पानी जम्ने समस्या हुने स्थानीयहरुले बताएका छन्।

उक्त सडकमा पानी जम्ने समस्या समाधानको लागि नालाहरु व्यवस्थित गरिनु पर्ने स्थानीयहरुले सम्बन्धित विभाग समक्ष मांग गरेका छन्। पानी जमेर हुने समस्या मात्रै होइन यस क्षेत्र पैह्रोको जोखिम क्षेत्र पनि मानिएकोले बर्खा लाग्नसाथ स्थानीयहरुका लागि चिन्ताको विषय बनेको छ। यस क्षेत्रमा सम्बन्धित निकायले यस क्षेत्रका लागि स्थायी समाधान तर्फ कार्य गर्न आवश्यक देखिएको छ।











