तीनदिवसीय ग्रीष्मकालीन युवा शिविर उद्घाटन

रम्फू। आजदेखि तीनदिवसीय ग्रीष्मकालीन युवा शिविर मानव उत्थान सेवा समिति, युवा प्रकोष्ठ सिक्किम राज्यद्वारा आयोजित गरिएको छ। समारोहमा मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ मुख्यअतिथिका रूपमा उपस्थित थिए। आज रम्फूमा अवस्थित श्री हंस सुयश सत्सङ्ग धाममा आयोजित यो तीन दिवसीय ग्रीष्मकालीन युवा शिविरको उद्घाटन मुख्यअतिथिको बाहुलीबाट गरिएको थियो।
यसरी नै मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र सिलगढीका प्रभारी महात्मा अदिना बाईजी, सिक्किम दार्जीलिङ हिमाली क्षेत्र प्रभारी महात्मा अखिलेश बाईजी, सिक्किम राज्य मण्डल प्रभारी महात्मा ज्ञान बाईजी लगायत सिक्किम राज्यको विभिन्न स्थानमा अवस्थित आश्रमका प्रभारी महात्मागणको विशेष उपस्थिति थियो।
आफ्नो सम्बोधन राख्दै मुख्यअतिथि जेलब खालिङले विज्ञानको आविष्कारले मानवलाई बाँच्न सहयोग दिए पनि असली सुख र आनन्द भने दिन नसक्ने बताए। विज्ञानले दिएको सुख क्षणिक रहेको बताउँदै खालिङले मानवलाई जीवन जीउने आधार अध्यात्म ज्ञानले मात्र दिनसक्ने बताए। अध्यात्म ज्ञान विहीन मानव अवसादमा जाने, नशालु पद्धार्थको सेवन गर्ने अनि आत्महत्या समेत गर्नसक्ने खालिङले आफ्नो सम्बोधनमा बताए।
विशेष शिविरमा उपस्थित युवाहरुलाई सम्बोधन गर्दै मुख्यअतिथि खालिङले युवाहरूको भविष्यलाई साँचेर आयोजना गरिएको शिविरबाट युवाहरु चैतन्य भएर निस्किनु पर्ने बताए। युवाहरुले यही उमेरमा जीवन जीउने आधार ‘आत्मज्ञान’ खोज्ने अवसर रहेको बताउँदै खालिङले उमेर तथा समय बितेपछि हातमा पश्चताप बाहेक केही रहँदैन भनी बताए।
ग्रिष्मकालीन शिविरको यो उदघाटन समारोहको यो अवसरमा छिमेकी देश नेपालको चर्चित रियलिटी शो भोइस अव नेपालको फाइनालिस्ट आर्यान तामाङलाई मुख्यअतिथिको बाहुलीबाट युवा प्रकोष्ठको पक्षमा सम्मान जनाइयो। यो कार्यक्रमलाई महात्मा सरला बाईजी अनि महात्मा दीपिका बाईजीले पनि सम्बोधन गरेका थिए भने साङ्गीतिक मञ्चका युवाहरूद्वारा भक्तिमय भजनहरू प्रस्तुत गरेका थिए।

About Author

Advertisement