तिलहरी

Graphic1

“यसपालि म खालि पोते लाएर माइत जान्न है। भाइको बिहेमा सबै झरझुट्ट गहना लगाएर आउँछन् म चैँ तै पुरानो नौगेडी सधैँ लाउन लाजै लाग्न थाल्यो। नौकरी गर्ने ज्वाइँ भन्छन्।

      श्रीमान झर्को मान्दै बोल्यो,”अफिसबाट घर आइपुगेको मात्र छु तिमी थालिहाल्यौ! चिया एक कप दिन पनि खोजी छैन, गहनाको कुरा….

आजकल सुनका जस्तै बजारमा पाइन्छ। तै एउटा किनेर लगाएर जानु।”

        “हुँदैन। यसपटक म केही सुन्दिनँ। तिम्रो एउटा पलिसीको पैसा आउँछ। त्यसैले बनाउँछु”।

         “सुन रेणु, म एउटा सानो नौकरी गरी घर चलाउँछु। भनेजस्तो भए छोरीको बिहे पनि गर्नु पर्छ। त्यो पैसा राखेर अलिकति थपथाप गर्दा होला भन्ने सोचिरहेको थिएँ, तिमीलाई नभै हुँदैन भने एउटा सानो बनाउनु।” श्रीमतीलाई केही शान्त पार्न ऊ  बोल्यो।

     “मेरा इ लुगाहरू अहिलेनै धोएर सुकाइदेऊ। भोलि एउटा मिटिङ छ। म छिट्टै जान्छु।”

     पसिनाले भिजेर निथ्रूक्क भएको सर्ट हातमा लिएर रेणु देख्दछिन् – अर्जुनको सर्ट  निकै पुरानो भएछ ।

      “तिम्रो सर्ट पुरानो भएछ अर्जुन। एउटा नयाँ किन नलिएको?  आफै कमाउने हुँदा पनि आफ्नो लागि खरिददारी गर्न सक्दैनौँ?” रेणुले गुनासो पोखी।

     “छोरा-छोरीको पढाइ र तिम्रो अभाव पुरा गर्न मलाई सारो परेको छ। लुगा कताबाट किन्ने? बजारमा एकदिन गएर हेरे थाहा भैहाल्छ तिमीलाई।”

     लामो श्वास लिँदै भित्र जान लागेको अर्जुनलाई हेरेर रेणु सोच्दछिन् – मलाई तिलहरी होइन मेरो परिवारको खुशी चाहिन्छ।

About Author

Advertisement