तारम छुमा पैह्रो प्रभावित क्षेत्रको निरीक्षण, सडक पुनर्स्थापनामा तीव्रता दिन निर्देशन

IMG-20240717-WA0003

गान्तोक: सीमा सडक संगठन (बीआरओ) अन्तर्गत सीमा सडक (पूर्व) का अतिरिक्त महानिर्देशक (एडीजीबीआर) जितेन्द्र प्रसाद ले आज उत्तर सिक्किमको अत्यन्त चुनौतीपूर्ण तथा संवेदनशील भूभागमध्ये एक तारम छु मा पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले प्रत्यक्ष रूपमा अवस्थाको मूल्याङ्कन गर्नुका साथै स्थलमा खटिएका बीआरओका कर्मचारीहरूसँग अन्तरक्रिया गरेका थिए।
एडीजीबीआर प्रसादले तारम छु क्षेत्रमा जारी पुनर्स्थापना कार्यको समीक्षा गर्दै कार्यलाई तीव्रता दिन र सडक मार्ग सकेसम्म चाँडो सञ्चालनमा ल्याउन स्पष्ट निर्देशन दिएका छन्। उनले पुनर्निर्माण तथा मर्मत कार्यको प्रगतिबारे विस्तृत जानकारी लिँदै सम्पर्क मार्ग शीघ्र पुनःस्थापना गर्न संस्था प्रतिबद्ध रहेको बताएका छन्।
उनले दुर्गम तथा संवेदनशील क्षेत्रहरूमा सडक पूर्वाधार मात्र नभई स्थानीय जीवनयापन, विकास र सीमावर्ती समुदायलाई देशका अन्य भागसँग जोड्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।
प्रेस विज्ञप्तिअनुसार यस भ्रमणले स्थलमा खटिएका कर्मचारीहरूको मनोबल उच्च बनाएको छ। साथै कठिन परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्ने बीआरओको नेतृत्व शैली र राष्ट्र निर्माणप्रतिको दृढ प्रतिबद्धतालाई समेत पुनः पुष्टि गरेको उल्लेख गरिएको छ।

About Author

Advertisement