तादोङ कलेजमा ३४औँ नेपाली भाषा मान्यता दिवस

IMG-20250912-WA0118

गान्तोक: नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङले नेपाली विभागसँगको सहकार्यमा ३४औँ नेपाली भाषा मान्यता दिवस शुक्रबारको दिन भव्य रूपमा सम्पन्न गर्योक। यस कार्यक्रमलाई महाविद्यालयको शैक्षिक वार्षिक कार्यतालिकाअन्तर्गत सञ्चालन गरिएको हो। जसको उद्देश्य भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषा सूचीकृत भएको ऐतिहासिक उपलब्धिलाई स्मरण गर्नु हो। कार्यक्रमका मुख्य अतिथि सिक्किम अकादमीका अध्यक्ष तथा नेपाली भाषा मान्यता आन्दोलनका अग्रणी व्यक्तित्व एसआर सुब्बा थिए। मुख्य अतिथि सुब्बाले भाषा मान्यता आन्दोलनका आफ्ना स्मृतिहरू विद्यार्थीहरूसँग साझा गर्दै जीवनमा स्पष्ट दृष्टि, एकाग्रता र इमान्दारिताको महत्त्वबारे प्रेरणा दिए। उनले संवैधानिक मान्यता आवश्यक भए पनि कुनै भाषाको वास्तविक उत्थानका लागि त्यस भाषाका वक्ताहरूको निष्ठा र प्रतिबद्धता अपरिहार्य हुने विचार प्रस्तुत गरे। सो अवसरमा प्रख्यात साहित्यकार, साहित्य अकादमी पुरस्कार विजेता, नेपाली भाषा परामर्श समितिका संयोजक तथा मुख्यमन्त्री कार्यालय, सिक्किमका प्रमुख सचिव डा. शङ्करदेव ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै सिक्किम अकादमीका पदाधिकारी पूर्ण योञ्जन र पीएल शर्मा, नेपाली साहित्य परिषद्, गान्तोकका पदाधिकारी भक्ति शर्मा, रत्ना लक्सम, जीएस लिम्बू, साहित्यकार उषा शर्मालगायत नाम्ची कलेजका प्राचार्य डा दीपक तिवारीको सहभागिता उल्लेख्य रहेको थियो। कार्यक्रमको प्रारम्भ दीप प्रज्वलनबाट गरिएको थियो। नरबहादुर भण्डारी सरकारी कलेजका प्राचार्य डा. डी पुरोहितले स्वागत मन्तव्य दिँदै भाषाको प्रगति र विकासमा हुने योगदानबारे प्रकाश पारे। उनले भानु पुरस्कार विजेता तथा भाषा मान्यता आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूलाई यस वार्षिक समारोहमा सम्मान गर्ने कलेजको परम्परालाई पनि जोड दिए। नेपाली विभाग प्रमुख डा उदय छेत्रीले कार्यक्रमका औचित्य र उद्देश्यहरू प्रस्तुत गर्दै नेपाली भाषा मान्यता आन्दोलनका योगदान पुर्याकउने व्यक्तित्वहरूको विशेष स्मरण गरे। उनले विशेषत: आन्दोलनका संस्थापक कोषाध्यक्ष एसआर सुब्बा र दिल्लीमा केन्द्रीय नेताहरूसँग समन्वय गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डा एसडी ढकाललाई उल्लेखनीय रूपमा प्रस्तुत गरे। सम्बोधनको क्रममा डा ढकालले भाषा समाज निर्माणको मूल आधार रहेको बताउँदै विद्यार्थीहरूलाई राष्ट्रिय स्तरका प्रतियोगी परीक्षाहरू, विशेषतः केन्द्रीय लोक सेवा आयोगद्वारा सञ्चालित परीक्षाको तयारीमा लाग्न आह्वान गरे। उनले नेपाली विषयलाई केन्द्रीय लोकसेवा आयोगको मुख्य परीक्षामा वैकल्पिक विषयका रूपमा रोज्न प्रेरित गरे। कलेजलाई “प्यान्डोराको बक्स”सँग तुलना गर्दै उहाँले विद्यार्थीहरूले समाज र राष्ट्रलाई सकारात्मक दिशामा डोर्यारउने पर्याप्त सम्भावना बोकेको धारणा व्यक्त गरे। यस अवसरमा उपस्थित विशिष्ट अतिथिहरूमध्ये डा जीवन उपाध्याय, प्रा. डा भास्कर चक्रवर्ती, डा. प्रमिला छेत्री, डा. गीता निरौला, डा शारदा छेत्री, सीपी राई, गुरु लुइटेल, डा. होमनाथ लुइटेल साथै कञ्चनजङ्घा राज्य विश्वविद्यालय सिक्किमका प्राध्यापकहरू डा. केके सापकोटा, डा. रीना राई, डा. आरबी रसाइली प्राध्यापकहरू उपस्थित थिए। कलेजका विभिन्न विभागका विभागीय प्रमुख, प्राध्यापक, अशैक्षिक कर्मचारी तथा नेपाली सम्मानका विद्यार्थीहरू र केएसयुका नेपाली स्नातकोत्तरका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको समापन नेपाली भाषाको शैक्षिक, सांस्कृतिक पहिचान र राष्ट्रिय एकतामा रहेको महत्त्वलाई सामुहिक रूपमा पुनः पुष्टि गर्दै गरिएको थियो। ३४औँ नेपाली भाषा मान्यता दिवस केवल आन्दोलनका अग्रणीहरूलाई श्रद्धाञ्जली मात्र नभई नयाँ पिँढीलाई आफ्नो भाषिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध बन्ने प्रेरणाको अवसर समेत बनेको थियो।

About Author

Advertisement