झापा: तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको छ। केही दिनदेखि अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर तराई क्षेत्रमा अबको तीन दिन तातो हावा तथा लहर अर्थात् ‘लू’ चल्न सक्ने भएकाले सम्भावित असरबाट जोगिन आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ।
यसैबीच तातो हावाको लहरबाट बच्नका लागि जनचेतना तथा प्रचारप्रसार गर्न आवश्यक रहेको विज्ञले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यस वर्ष तापक्रम बढ्ने प्रक्षेपण गरिसकेको छ। जनस्वास्थ्यविद् डा. समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्नसक्ने भन्दै यसबाट जोगिन आवश्यक रहेको बताएका छन्।










