गान्तोक: उत्तर सिक्किमको चुङथाङमा कथित टिस्टा स्टेज-3 पुनर्निर्माणको निर्णयप्रति सिटिजन एक्सन पार्टी (क्याप) आपत्ति जनाएको छ। क्यापले राज्य सरकारमाथि चुङथाङवासीको माग र आकांक्षा विपरीत काम गरिरहेको आरोप पनि लगाएको छ। क्यापले पुनर्निर्माणको कार्यलाई अगाडि बढ़ाउन अघि उचित प्रक्रिया पालना गरिनु पर्छ भनी माग पनि गरेको छ। क्याप प्रवक्ता महेश राईले प्रेस क्लब अफ् सिक्किममा आज आयोजित एक पत्रकार सम्मेलनमा उत्तर सिक्किमको चुङथाङमा जलविद्युत परियोजना टिस्टा स्टेज-3 पुनर्निर्माणको निर्णयप्रति कड़ा आपत्ति जनाए। उनले वर्ष २०२३ मा हिमनदी फुटेर आएको बाढी (जीएलओएफ) ले सिक्किमेहरूलाई दिएको घाउ अझै पनि आलै रहेको छ भने राज्य सरकार पीडित जनताका माग र आकांक्षाहरूको अवहेलना गरेर ड्याम पुनर्निर्माणको कार्यमा लागिपरेको आरोप लगाए।
उनले ड्याम पुनर्निर्माणको निम्ति स्वीकृति प्रदान गर्ने केन्द्रिय पर्यावरण मन्त्रालयको विशेषज्ञ मूल्याङ्कन कमिटीको निर्णयप्रति पनि आश्चर्य व्यक्त गरेका छन्। उक्त कमिटीले नै दिसम्बर २०२४ मा जीएलओएफ प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गरेर चुङथाङमा ड्याम पुनर्निर्माण गरिनु हुॅंदैन भन्ने आसय आफ्नो रिपोर्टमा उल्लेख गरेको उनले दाबी गरे। अर्कोतिर, उक्त कमिटीले नै त्यहॉं ड्याम पुनर्निर्माणको निम्ति स्वीकृति प्रदान गरिरहेकोमा उनले प्रश्न गरेका छन्। प्रवक्ता राईले टिस्टा स्टेज-३ को निम्ति चुङथाङमा ड्याम पुनर्निर्माणको कार्य राज्य सरकारको सक्रियतामा कमिटीले रिपोर्ट बुझाउनभन्दा अघिदेखि शुरू गरिएको पनि दाबी गरेका छन्। उनले कुनै पनि परियोजना शुरू गर्दा जन सुनवाई र सम्भाव्यता जॉंच गर्नु पर्ने हो, तर यहॉं यस्ता आवश्यक प्रक्रियाहरूलाई अदेखा गरिएको आरोप लगाए। उनले राज्य सरकारमाथि प्रभावित क्षेत्रका जनताको आवाज दबाउने काम गरिरहेको पनि आरोप लगाए।
प्रश्नहरूको जवाफ दिने क्रममा प्रवक्ता राईले सिक्किममा अब नयॉं ड्याम बनिनु हुॅंदैन भन्ने सीएपीको अडान रहेको स्पष्ट गरे। उनले चुङथाङमा ड्याम पुनर्निर्माण गर्नुभन्दा अघि उचित प्रक्रिया पालन गर्नुपर्ने बताए। राज्य सरकारले पुनर्निर्माणको
कार्यलाई अगाडि बढाउनअघि पहिला जीएलओएफ पीडित परिवारहरूको पुनर्वास र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्छ भने।








