गान्ताेक: डेन्जोङ कृषि सहकारी संस्था लिमिटेड (डीएसीएल) ले राज्य सरकारलाई २५ लाख २६ हजार रूपैयाँको लाभांश चेक प्रदान गरेको छ। संस्थाका प्रबन्ध निर्देशक धीरज प्रधान ले आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ लाई उक्त चेक हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री तामाङले संस्थाका नेतृत्व र सदस्यहरूको समर्पण तथा जिम्मेवार व्यवस्थापनको प्रशंसा गर्दै उनीहरूको प्रयासले किसान र व्यापक समुदायको हितमा उल्लेखनीय योगदान पुर्याएको बताए।
बैठकका क्रममा डीएसीएलले सिक्किममा कुखुरा उत्पादक सहकारी संस्थाहरूद्वारा स्थानीय रूपमा उत्पादित कुखुराको बजारीकरण सुदृढ बनाउन सक्रिय रूपमा काम गरिरहेको जानकारी मुख्यमन्त्रीलाई गराइएको थियो। संस्थाले राज्यमा तैनाथ सेना र अर्धसैनिक बलहरूलाई समेत कुखुरा उत्पादनहरू आपूर्ति गरिरहेको बताइएको छ।
यसका साथै आगामी अप्रिल महिनादेखि कुखुराको दर परिमार्जन गर्ने विषयमा पनि छलफल भएको छ। बैठकमा राज्यमा फ्रोजेन पोल्ट्री प्रोसेसिङ प्लान्ट स्थापना गर्ने प्रस्तावमाथि पनि विचार भएको थियो।
मुख्यमन्त्री कार्यालय (सीएमओ) ले जारी गरेको विज्ञप्तिअनुसार राज्य सरकारले उक्त प्लान्ट स्थापना गर्न आवश्यक जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ। प्रस्तावित पहलले राज्यमा कुखुरापालन बजारलाई थप मजबुत बनाउने र सहकारी क्षेत्रका किसान तथा अन्य सरोकारवालाहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।









