डुवर्स नेपाली साहित्य विकास समितिको तीन दिवसीय स्वर्ण जयन्तीको समापन कार्यक्रममा सांसद राजु बिष्ट सहभागी

IMG-20241229-WA0181

सिलगढी: आज डुवर्समा बीरपाडा नेपाली उच्च विद्यालयको प्रांगणमा डुवर्स नेपाली साहित्य विकास समितिको तीन दिवसीय स्वर्ण जयन्तीको समापन दिवसमा सांसद राजु बिष्ट सहभागी बने। आफू सहभागी बनेको उनले एक प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l उनले भने, ‘’ क्षेत्रमा नेपाली साहित्य एवं संस्कृतिको संरक्षण, सम्बर्द्धन, एवं विकासप्रति बितेका ५० वर्षदेखिको प्रतिबद्धताको उत्सव मनाउन यस ऐतिहासिक कार्यक्रमको आयोजना गरिएको थियो।

यस समारोहमा उपस्थित गण्यमान्य व्यक्तिहरूमा सिक्किम सरकारका मन्त्री भोजराज राई, कालचिनीका विधायक विशाल लामाज्यू, जलगाँव विकास प्राधिकरणका अध्यक्ष गंगा प्रसाद शर्मा, असम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भुजेल, अनि थिरुप्रसाद नेपाल, टी बी चन्द्र सुब्बा, लोकनाथ उपाध्याय, अनूप शर्मा, किर्तन छेत्री, जेठा सुब्बा समेत अन्यान्य सुविख्यात लेखक एवं साहित्यिकहरूको उपस्थिति रह्यो।’

यस तीन दिवसीय समारोहमा असम, पश्चिम बङ्गाल, सिक्किम, अन्य पूर्वोत्तर राज्यहरू, र छिमेकी देशहरू नेपाल र भुटानका समेत लेखक, चिन्तक, बुद्धिजीवी, प्रख्यात सामाजिक एवं सांस्कृतिक व्यक्तित्वहरू, साहित्यानुरागीहरू, एवं गोर्खाहरूको समागम रहेको उनले बताएका छन्। तीन दिवसीय यस भव्य कार्यक्रमको अन्तिम दिनमा डुवर्स नेपाली साहित्य विकास समितिका संस्थापक सदस्यहरू, तथा कला, संगीत, र साहित्यको क्षेत्रमा उच्च उपलब्धि हासिल गर्ने व्यक्तित्वहरूलाई सम्मान गरियो। यस भव्य साहित्यिक-सांस्कृतिक उत्सवले डुवर्स नेपाली साहित्य विकास समितिको यात्रालाई प्रदर्शित गर्नुका साथै नेपाली साहित्यिक र सांस्कृतिक परम्पराहरूमा योगदान गर्न भावी पिढीलाई उत्प्रेरित गर्ने तरिकाहरूमाथि पनि विचार-विमर्श भएको उनले बताएका छन्।

About Author

Advertisement