डुवर्सका युवा कवि चन्दन भट्टराई र साहित्यकार कृष्ण योञ्जन गड़बड़े पुरस्कृत

50effd5f-89a1-48c8-8e5b-cb14812bf8f0-1

बीरपाडाः डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ बीरपाड़ामा आइतबार डुवर्स नेपाली साहित्य सभाद्वारा आयोजित पुरस्कार अलङ्करण समारोहमा कालचिनी खण्डको बुखिमबारी चियाबारीका युवा कवि चन्दन भट्टराईलाई स्व. इन्द्रबहादुर गुरुङ युवा पुरस्कार अनि डुवर्स हन्टापाड़ा चियाबारी निवासी वयोवृद्ध साहित्यकार कृष्ण योञ्जन ‘गड़बड़े’ लाई स्व. कृष्णभक्त खड़का स्मृति पुरस्कार प्रदान गऱ्यो। प्रथमपल्ट डुवर्सबाट डुवर्स नेपाली साहित्य सभाले डुवर्सकै ओझलमा परेका स्रष्टाहरूलाई सम्मान गर्ने यो पहल शुरु गरेको सो संस्थाका सचिव किरण उपाध्यायले दाबी गरेका छन्। यता सम्मानित भएका युवा कवि चन्दन भट्टराईले आफू यो पुरस्कार प्राप्त गर्ने लायकको सम्झेकोमा डुवर्स नेपाली साहित्य सभाप्रति आभार व्यक्त गरेका छन् भने तिनले आफूलाई साहित्यकार नभनीदिने बरु साहित्यानुरागी वा सानो कवि सम्बोधन गर्ने हार्दिकता जाहेर गरेका छन्।


डुवर्स नेपाली साहित्य सभाद्वारा आयोजित सो समारोहमा प्रमुख अनि विशिष्ट अतिथिहरूमा खरासाङका विधायक बीपी बजगाई लगायत असम साहित्य सभाका पूर्व महासचिव तथा साहित्यकार रुद्र बराल, डा. जीवन राणा, सितम मोक्तान, सर्जक साहित्यकार गणेश गजमेर, वसन्त थापा, एवम् अन्यान्यको उपस्थिति रहेको थियो। समारोहमा चारवटा साहित्यिक कृतिहरूको लोकार्पण पनि गरिएको थियो। लोकार्पित साहित्यिक कृतिमा शान्ता प्रकाशनको कुञ्चिका दोस्रो अंक, गणेश गजमेरको कविता संग्रह आमा र कोठेबारी अनि गीति संग्रह मादल सम्हाल, किरण उपाध्यायकृत डुवर्स तिमी कविता संग्रहको दोस्रो संस्करणको विधिवत विमोचन गरिएको थियो।

About Author

Advertisement