खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको १४२औं वर्षगाँठ खरसाङको तीनधारे क्षेत्रमा डीएचआर लभर्स ग्रुपको आयोजनामा एक समारोहबीच पालन गरिएको छ। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा एनएफ रेलवेको डीआरएम अवकाशप्राप्त कर्नल एस चौधरी उपस्थित रहेका थिए।

सन् १८८० मा सिलगढीबाट खरसाङसम्म रेलवे पुगेको र खरसाङदेखि यात्री रेल सेवा शुरू भएको अवसरमा डीएचआरको १४२औं वर्षगाँठ पालन गरिएको छ। मुख्य अतिथिको रूपमा उपस्थित डीआरएम एस चौधरीको बाहुलीबाट धुप दीप प्रज्वलन साथै केक काटेर डीएचआरको १४२औं वर्षगाँठ पालन गरिएको छ।

डीआरएमसितै एडीआरएम सञ्जय किरूवारवार, डेन सतीश ज्योति, डीएचआरको निर्देशक एके मिश्र, एरिया अफिसर नरेन्द्र मोहन लगायत अन्य रेलवे अधिकारीहरू पनि उपस्थित रहेका थिए। डीआरएमले कार्यक्रममा भाग लिन अघि तीनधारेको मोटर स्ट्याण्ड अघिपट्टि रहेको लोकोशेड घरको पनि निरीक्षण गरेका थिए। रेलवे कर्मचारी नरेन बम्जनले सञ्चालन गरेको कार्यक्रमलाई एस दिक्षितले अध्यक्षता गरेका थिए भने स्वागत सम्भाषण डीएचआर लभर्स ग्रुपको सचिव मिराज विश्वकर्मले राखेका थिए।

कार्यक्रममा डीएचआरको इतिहास विषयमा तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयकी विद्यार्थीद्वारा अंग्रेजीमा वार्ता प्रस्तुत गरेका थिए भने डीएचआरको इतिहास विषयमा डीएचआरमाथि पुस्तक प्रकाशित गरिसकेका स्रष्टा एंव पूर्व रेलवे कर्मचारी देवराज मुखियाले बताएका थिए। कार्यक्रममा स्वागत गीत एंव रेलवेमाथि रहेको गीत गायक एंव संगीतकार बरूण रसाईलीले प्रस्तुत गरेका थिए भने सतीश राई र रमेश रसाईलीद्वारा गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा कवि अनिल विद्रोहीले कविता पठन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, तीनधारे रेलवे अस्पतालको डाक्टर ईआर लामा, वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सभापति दिपक प्रधान, सल्लाहकार पूर्ण मास्के, मदन प्रधान, श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्री, तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापिका रोजीरानी राई, देवराज मुखिया लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै कार्यक्रममा डीएचआर लभर्स ग्रुपद्वारा तीनधारे महानदी समष्टिको निर्वाचित सभासद नवराज छेत्रीलाई खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान पनि जनाइएको थियो।

कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै डीएचआर लभर्स ग्रुपका सचिव मिराज विश्वकर्मले दार्जिलिङ पहाड़मा सन् १८८० मा रेल खरसाङसम्म पुगेको थियो र अाज हामीले दार्जिलिङ हिमालयन रेलवेको १४२औं वर्ष गाँठ पालन गरिएको बताएका छन्। उनले दार्जिलिङ हिमालयन रेलवेको संरक्षण र सम्बर्ध्दनको लागि काम गर्नलाई डीएचआर लभर्स ग्रुप सन् २०११ मा गठन गरेको बताउँदै आज तीनधारेमा डीएचआरको १४२औं वर्षगाँठ पालन गरिएको र यस कार्यक्रममा मुख्य अतिथिको रूपमा डीआरएम उपस्थित रहेको बताएका छन्। सचिव मिराज विश्वकर्मले हामी सबै मिलेर डीएचआरको संरक्षण गर्न आवश्यक रहेको पनि बताएका छन् ।










