डीएचआरको दार्जिलिङ रेलवे स्टेशनको इञ्जिन सेडको छत भत्किँदा ८ कर्मचारी घाइते

IMG-20260902-WA0067

दार्जिलिङ: दार्जीलिङको ऐतिहासिक हिमालयन रेलवेको दार्जिलिङ रेलवे स्टेशन परिसरस्थित रेलवे इञ्जिन सेडमा आज बिहान अचानक छत भत्किँदा इन्चार्जसहित ८ जना रेलवे कर्मचारीहरु घाइते भएका छन्। प्राप्त जानकारीअनुसार कर्मचारीहरू इञ्जिन सेडमा कार्य गरिरहेको समयमा बिहान लगभग ८:५५ बजीतिर अचानक सेडको छत भत्किएर खस्दा उनीहरू घाइते भएका हुन्। घटनापछि घाइते सबैलाई तत्काल उपचारका लागि दार्जीलिङ जिल्ला अस्पताल पुर्‍याइएको थियो। जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते कर्मचारीहरूलाई थप उपचारका लागि एनजेपीस्थित रेलवे अस्पतालमा लगिएको स्रोतबाट जानकारी प्राप्त भएको छ। घटनाको जानकारी पाए लगत्तै दार्जीलिङका विधायक नोमन राई घटनास्थलमा पुगेर अवस्थाको निरीक्षण गरेका थिए। विधायक राईले जिल्ला अस्पतालमा पुगेर घाइते कर्मचारीहरूको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका छन्। रेलवे विभागसँग सम्बन्धित विभिन्न समस्या तथा घटनाका विषयमा आफूले चाँडै नै रेलवे विभागका उच्च अधिकारीहरूसँग भेट गरी आवश्यक छलफल गर्ने विधायक राईले बताएका छन्। यसैबीच स्थानीयवासीका तर्फबाट बिनिता रोकाले रेलवे विभागले जोखिमपूर्ण अवस्थामा रहेका संरचनाहरूप्रति तत्काल विशेष ध्यान दिनुपर्ने बताएकी छन्। उनका अनुसार, इन्जिन सेडलगायत जोखिममा रहेका संरचनाको संरक्षण तथा मर्मतसम्भारका विषयमा पटक–पटक सम्बन्धित विभागलाई जानकारी गराउँदै आए पनि समयमै आवश्यक पहल नभएको गुनासो गरिएको छ।

स्थानीयवासीले रेलवे विभागलाई यस्ता जोखिमपूर्ण संरचनाको तत्काल निरीक्षण गरी आवश्यक मर्मत तथा सुरक्षाका उपाय अवलम्बन गर्न माँग गरेका छन्।
घटनाबारे रेलवे विभागको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन बाँकी रहेको छ।

About Author

Advertisement