डिसन अस्पतालद्वारा भारतको स्वास्थ्य सेवा क्षेत्रमा नयाँ कीर्तिमान स्थापित

IMG-20250118-WA0208
  • देशकै पहिलो र एकमात्र रूफटप हेलिप्याड भएको अस्पताल कोलकातामा शुरु

कोलकाता: डिसन अस्पतालले भारतको पहिलो र एकमात्र रूफटप हेलिप्याड भएको अस्पतालको रूपमा कीर्तिमान बनाएको छ। शुक्रबार बिहान एउटा परीक्षण उडानका क्रममा पहिलो हेलिकप्टर अस्पतालको हेलिप्याडमा सफलतापूर्वक अवतरण गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति जारी गरेर बताएको छ। अगस्ता १०९ एसपी हेलिकप्टर, जसले बिहान १०:४५ बजे बेहाला फ्लाइङ क्लबबाट उडान भरेको थियो, पाइलट क्याप्टेन इन्द्रनिल भट्टाचार्य र सह-पाइलट क्याप्टेन सञ्जीव शर्माको कुशलतामा सुरक्षित रूपमा अवतरण गरियो। डिसन अस्पतालको यो रूफटप हेलिप्याड “२२.३०° उत्तर अक्षांश र ८८.११° पूर्व देशान्तर” मा अवस्थित छ र ५२.४५ मिटर उचाइमा निर्माण गरिएको छ। हेलिप्याडमा सबै सुरक्षा उपकरण, दमकल प्रणाली र अन्य आवश्यक तयारी पूर्ण गरिएको प्रेस विज्ञप्तिमा बताएको छ।

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले १४ जनवरी २०२५ मा डिसन अस्पताललाई अन्तिम स्वीकृति दिएको थियो। यस स्वीकृतिअन्तर्गत शुक्रबार परीक्षण अवतरणको अनुमति दिइएको थियो। डीजीसीएद्वारा अधिकृत एजेन्सी ओएसएसएयर म्यानेजमेन्ट प्राइभेट लिमिटेडले यो उडानको सञ्चालन गरेको थियो भने डीजीसीएका निरीक्षकले परीक्षणको निगरानी गरेका थिए। डिसन अस्पतालले भारतीय विमानपत्तन प्राधिकरण (एएआई) लाई उडान योजना र अवतरणबारे जानकारी गराएको थियो ताकि सबै आवश्यक समन्वय सुनिश्चित गर्न सकियोस् भन्ने बताइएको छ। डिसन अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक सजल दत्ताले भने, “यो हाम्रो लागि गौरवको क्षण हो। रूफटप हेलिप्याडको माध्यमबाट गम्भीर बिरामीहरूलाई छिटो र प्रभावकारी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउन सम्भव हुनेछ। पश्चिम बंगाल, उत्तर-पूर्व र पूर्वी भारतका अन्य क्षेत्रहरूबाट बिरामीहरूले छिटो उपचार प्राप्त गर्न सक्नेछन्। अब परीक्षण सफल भएपछि हामी एयर एम्बुलेन्स सेवा शुरु गर्नेछौं। उनले थपे, “डीजीसीएको सुझावअनुसार, हेलिप्याडको योजना र निर्माण गरिएको हो। यो हेलिप्याड सटीक इन्जिनियरिङ र बलियो संरचनाको परिणाम हो। जीवन र मृत्युको बिचमा हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ। डिसन अस्पताल आपतकालीन अवस्थामा बिरामीहरूलाई छिटो र निर्बाध चिकित्सा सेवा प्रदान गर्न तयार छ।

About Author

Advertisement