खरसाङ: डा. रिन्जी ईडेन वाङ्दीको चौथो कृतिको लोकार्पण गरिएको छ। सालबारीस्थित एउटा क्याफेको प्रेक्षालयमा सर्जक डा. रिन्जी ईडेन वाङ्दीलिखित चौथो कृतिको भव्य लोकार्पण सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयका भू.पू. प्राध्यापिका भाषा विज्ञान विशेषज्ञ डा. सुभद्रा सुब्बा दाहालको सभाध्यक्षतामा भएको लोकार्पण समारोहमा प्रो. घनश्याम नेपाल, डा. जीवन नाम्दुङ, समालोचक पेम्पा तामाङ, डा. सोनाम बी. वाङ्गेल, साहित्यकार बिर्ख खड्का डुवर्सेली, प्रकाशक सावर अग्रवाल, भू. पू. डी.आई. जी. ओ. जी पौल, डा. रेमिका थापा विशेष उपस्थित थिए।साहित्यकार रिन्जीका ‘दृष्टि एक : दिशा अनेक- सामलो मेलोङ’ पुस्तकमाथि साहित्य, संस्कृति र चेतना विषयमा अन्तरसंवाद सम्पन्न भयो। अन्तरसंवादमा वरिष्ठ समालोचक पेम्पा तामाङ, लेखक डा. सोनाम बी. वाङ्देल, लेखिका डा. रिन्जी ईडेन वाङ्दी रहेका थिए भने प्रा. विनोद प्रधानले सहकार्य गरेका थिए। पुस्तकको नामाकरण सामलो मेलोङको शाब्दिक अर्थलाई प्रकाश पार्दै लेखिका रिन्जीले आफ्नो मनको ऐनाको प्रतिविम्ब भनी बताए। अन्तरसंवादको क्रममा दार्जिलिङको इतिहास, भाषा, नाटक विषयमा समेत गहन चर्चापरिचर्चा भयो। प्रो. घनश्याम नेपालले आफ्नो मन्तव्यमा प्रस्तुत पुस्तक धेरै परिमार्जित, वैविध्यमय र चाखलाग्दो ग्रन्थ भएको बताए। पर्यवेक्षकको मन्तव्य राख्दै डा. रेमिका थापाले लेखिका रिन्जीले नाटकमा दिएको योगदान कतै खेरो नजाने, दार्जिलिङको नाटकको पूर्ण शताब्दी यदि लेखिए भने उनको नाम अङ्कित हुने विश्वास व्यक्त गरिन् साथै कार्यक्रम सुन्दर र भव्य भएकोमा प्रशंसा गरिन्। उक्त लोकार्पण समारोहको सञ्चालन डा. सपन प्रधान गरेका थिए। कार्यक्रमको अध्यक्षीय मन्तव्य दिँदै सो पुस्तक आफूले आद्योपान्त पढिसिद्याएको र पुस्तकमा गहन अध्ययन अनुशीलन गरी लेखिएको बताइन्। अध्यक्षले पुस्तकमा पाइने तिब्बती कला-साहित्य र तिब्बती साहित्य र संस्कृतिमा पं राहुल सांकृत्यायनको अध्ययन र योगदान अपूर्व रहेको बताइन्। साथै तिब्बती कला-साहित्यको महत्व र ज्ञान बारेमा विस्तृत जनाइन्। कार्यक्रममा विभिन्न कार्यक्षेत्रमा संलग्न व्यक्ति साथै सिक्किम, दार्जिलिङ, सिलगढीबाट आएका अतिथिहरूको बाक्लो जमघट थियो। सम्बोधन पब्लिकेसनको प्रकाशनबाट प्रकाशित भएको उक्त पुस्तकको लोकार्पण पनि सोही प्रकाशनको ब्यानरमा भएको थियो।

प्रकाशनको पक्षमा सुरज गुरुङले अतिथिहरूलाई स्वागत गर्दै यति भव्य पुस्तकको काम गर्न आफ्नो प्रकाशनले अवसर पाएकोमा खुसी व्यक्त गर्दै पुस्तकको महत्व उच्चकोटिको रहेकोले पाठकलाई पढिदिने आग्रह समेत गरे भनी खरसाङ महाविद्यालयका प्राध्यापक डा सपन प्रधानले जानकारी गराएका छन्।










