डा. मणिकुमार छेत्री र ती साथी

Dr-Mani-Kumar-Chettri

उमेरमा मभन्दा अलि पाकै थिए ती साथी । उनी सत्तरीको दशकको अन्तिमतिर मध्य कोलकाताको एउटा प्राइभेट कम्पनीको सुरक्षा गार्डमा अस्थाइरूपमा तैनाथ थिए । काम गरेको ठाउँमा इमानदारी र विश्वास आर्जन गर्नु नेपालीहरूको जन्मगत परम्परा पनि हो । त्यसैले उनलाई स्थायी गर्ने सोचकोसाथ कम्पनीले नियमित मेडिकल जाँच गर्न पत्र दिएर सधै परीक्षण गर्ने गरेको दक्षिण कोलकाताको एउटा प्राइभेट हस्पिटलमा पठाउने काम गर्यो, उनी पत्र लिएर त्यहाँ पुगे । सबै जाँचका प्रकृयाहरू पूरा गरेर भोलि रिपोर्ट अफिसमा जान्छ भनेर त्यस मेडिकलका इन्चार्जले भने । उनी आफ्नो डिउटीमा फर्के भोलि रिपोर्ट आउछ, कंमनीले स्थाई गर्छ भन्ने आनन्दले त्यस रातलाई व्यतित गरेर बसे । दोस्रो दिन दिउँसो रिपोर्ट कम्पनीको जेनरल म्यानेजरको अफिसमा आयो उनले रिपोर्ट हेरेरतुरुन्तै ती व्यक्तिलाई बोलाए “तिमीलाई टिबी रोगले समातेको रहेछ अब यहाँ काम गर्न मिल्दैन, स्टाफ्रुममा रहेका तिम्रा भाँड़ा–बर्तन, लत्ता–कपडा लिएर निस्किहाल”भनेर आदेश गरे । उनको एक्सरेमा पनि छातिभित्र कालो दागी स्पस्टै देखिन्थ्यो । विचरालाई चौटा खान गएको सम्धी झोलमा डुबेर म¥यो भन्ने उखानजस्तो भयो । उनी रुँदैरुँदै अफिसबाट निस्के, अब अरू साथीहरूकोमा बस्नदेउ भन्नेभन्दा पनि आफ्नै घर नेपाल जाने निर्णय गरे र हवड़ाबाट मिथिलाको टिकट काटेर त्यसै दिन रेलद्वारा स्वदेश फर्के ।

घरमा आफ्ना सरसामान राखेर दोस्रो दिन उनी काठमाण्डौको नजिकै कालीमाटीमा रहेको सरकारी टिबी हस्पिटलमा उपचारको लागि पुगे । त्यहाँ उनलाई सबै कुराको राम्रोसँग जाँच गरियो । त्यसको सम्पूर्ण रिपोर्ट हेरेर मेडिकल इन्चार्ज (डाक्टर)ले भने “तिमीलाई टिबी छैन छातीमा सामान्य कफ जमेको रहेछ त्यो औसदी खाँदा ठीक हुन्छ”भन्ने सल्लाह दिए । अब परेन त फसाद ! यता छँदाखाँदाको नोकरी पनि गैसक्यो, कोलकाता छोडेर आफ्नै गाउँ पुगेका छन् त्यताको डाक्टरले फेरि यस्तो रिपोर्ट दिए । अनि उनले यहाँको सारा घटना र विवरण ती डाक्टरलाई सुनाए, आफू अन्यायको शिकार भएको कुरा बताए र आफूले के गर्न सकिन्छ भन्ने सुझाव मागे । अनि ती डाक्टरले भने “नेपालभित्रको मामला भए मैले सोझै पत्र लेखिदिने थिएँ यो भारतको कुरा भयो । तर यो मेरो सम्पूर्ण रिपोर्ट लिएर तिमी कोलकाताको पिजी हस्पिटलमा जाउ, त्यो पश्चिम बङ्गाल सरकारको ठूलो हस्पिटल हो, त्यहाँ पश्चिम बङ्गाल सरकार हेल्थ डिपार्टका डाइरेक्टर डा. मणिकुमार छेत्री छन् यो सबै विवरण उनी समक्ष राख, मलाई उनले चिन्दछन् आशा छ तिम्रो समस्यको समाधान हुन्छ”भन्ने सुझाव दिएछन् ।

के खोज्दछस् काना भन्दा आँखा, भनेझै ती साथीले एउटा आशाको किरण देखे । उनी फेरि कोलकाता फर्केर आए उनै डाक्टरले दिएको सुझाव अनुसार सरासर पिजी हस्पिटल पुगेर डा. छेत्रीलाई भेटे । माथि उल्लिखित सबै विवरण पेश गरेपछि डा छेत्रीले आफ्नै तरिकाले सम्पूर्ण टेष्टजाँच गराए । रिपोर्ट हेर्दा काठमाण्डौमा जाँच गराएजस्तै यहाँ पनि डाक्टरले ती पीडितको टिबी रोग देखेनन् । त्यसपछि उनले आफ्नो लेटर प्याडमा लेखेर पत्र उनलाई दिँदै भने “यो पत्र लिएर जाउ, आफूले काम गरेको अफिस र त्यो तिम्रो मेडिकल जाँच गर्ने हस्पिटलको डाक्टरलाई देखाएर गर्दै गरेको नोकरी मलाई अहिल्यै चाहियो भनेर माग राख, यदि यताउति कुरा गरे भने मलाई आएर भन्नु, त्यसको म कारबाही गरौंला ।” उनी सरासर त्यो पत्र लिएर आफूले काम गरेको कम्पनीमा गए र पत्र जिएमलाई देखाए । पत्र देखेर अचम्मित हुँदै यो गलत गरेको रहेछ ती डाक्टरलाई लगेर देखाउ जस्ले तिमीलाई टिबी रोग छ भनेर लेखेको थियो भन्दै उसैकोमा पठाए ।

उनी डा. मणिकुमार छेत्रीको पत्र लिएर त्यसै डाक्टरकोमा पुगे जस्ले उनलाई टिबी रोग छ भनेर लेखेको थियो । पत्र देखेर उनी पनि हतास भए उनैको कारणले त्यो गरिब बेसहाराको नोकरी गएको थियो र उसले धेरै हण्डर हविगत भोग्नु परेको थियो । आफ्नो हस्पिटलमा जाँचको समय भएको त्रुटिलाई महसुस गर्दै उनले बुझे, यदि उसको नोकरीको व्यवस्था न मिलाइदिने हो भने उनको आफ्नो हस्पिटल सुरक्षित नरहन सक्छ । किनकी उसले त्यो पत्र लिएर आएको छ जो पत्र पश्चिम बङ्गाल हेल्थ डेपार्टमेन्टको डाइरेक्टर स्वयम्ले लेखेर पठाएका छन् । अब जुन ठाउँमा उसले नोकरी पाउनु पर्ने थियो त्यो कम्पनीले त्यहाँ मान्छे तैनाथ गरिसकेको थियो । उनी वाध्य भएर आफ्नै हस्पिटलमा काम गर्न सुझाए, तर ती साथी पनि अब कम के थिएर “मैले यहाँ नै काम गर्नु पर्छ भने मैले गरिरहेको नोकरीमा जो तलब पाउथेँ त्यसको दुईगुना दिनु पर्छ किनकी स्थाई भएपछि मैले त्यहाँ दुईगुनानै पाउथेँ”भनेर कस्सिए । अरू विकल्प नदेखेपछि ती डाक्टरले उसलाई पहिले पाइरहेकोभन्दा दुईगुना बढी तलब दिएर आफ्नै हस्पिटलमा राख्ने निर्णय गरे । त्यसै संस्थामा उनले जीवनभर नोकरी गरे अनिपछि परलोक भए ।

मेरो मस्तिष्कमा कहिलेकाहीँ खड्किने गर्दछ यदि त्यस समय डा. मणिकुमार छेत्री पश्चिम बङ्गाल हेल्थ डेपार्टमेन्टको डाइरेक्टर नभएका भए त्यो मेरो साथीले सायदै नोकरी पाउँथ्यो होला अथवा उसको जिन्दगी कुन अवस्थामा बित्ने थियो होला भन्न मुस्किल हुन्थ्यो । उनी अति विशिष्ट डाक्टरहरू मध्यका एक हुन भन्ने कुरा नेपाली समुदायमा मात्र नभएर सम्पूर्ण कोलकातावासीहरूमा चर्चा हुने गर्दथ्यो । भारतमा रहेका नेपाली समुदायको लागि कुनै आफ्नो समुदायबाट माथि कोही उठ्दछ भने राम्रो गर्व गर्ने विषय बन्दछ । जस्तै कोलकाता उच्च अदालतका न्यायधीश रामकृष्ण शर्मा, पश्चिम बङ्गाल हेल्थ डेपार्टमेन्टका तत्कालीन डाइरेक्टर डा. मणिकुमार छेत्री, प्रसिद्ध फुटबलर श्याम थापा आदिले गर्दा यहाँका नेपालीभाषी समुदायमा राम्रो प्रभाव परिरहेको देखिन्छ । त्यस्तै उत्साहीमध्यको म पनि एक हो ।

न चिन्नु न जान्नु तर कोलकातामा डा. छेत्रीको योगदान र व्यक्तित्व सधैँ म स्मरण गरिरहन्थेँ भने उनका विद्यार्थी डाक्टरहरू भगवान तुल्य मान्दथे । उनी अवकाश भइसकेपछि पनि आफ्नो पेसा चलाइरहेका छन्, एएमआरआई हस्पिटलले उननलाई ठूलो दायित्व सुम्पेर राखेको थियो । यसैबीच ९ दिसम्बर २०११ को  दिन बिहानको उज्यालो नहुँदै दक्षिण कोलकाताको ढाकुयिामा रहेको एएमआरआई हस्पिटलमा आगलागिको ठूलो घटना घट्यो, त्यहाँ लागेको आगोले ९२ जना बिरामीहरूको ज्यान गयो र कैयौं घाइते भए । हस्पिटलको सुरक्षामा लापरवाही गरेको भन्दै प्रशासनले बोर्डका सम्पूण सदस्यलाई हिरासतमा लियो । त्यसमा प्रोफेसर डा. मणिकुमार छेत्रीलगायत आर एस अगरवाल, आर एस गोइन्का, एस के टोडी, ए भि अगरवाल, डा. प्रणब दासगुप्त, डि एन अगरवाल, प्रिती सुरेखा, प्रशान्त गोइन्का, रवि टोडी, राहुल टोडी, डा. एस बि तिब्रेवाल प्रोफेसर डा. सोमेन्द्रनाथ ब्यानर्जी र सुकुमार भट्टाचार्यको नाममा एफआइआर भयो । यसमा सबैभन्दा पाको उमेरका ९२ वर्षीय डा. छेत्री थिए । यो अवस्थामा त्यति ठूलो कीर्ति आर्जन गरेको व्यक्तिले पक्राउ परेर हिरासतमा बस्नु भनेको कस्तो कठिनाइको स्थिति थियो होला सबैले सहजै अनुमान गर्ने कुरा भयो ।

यो कुरा सुनेर म साह्रै दुःखित भएँ, के गर्ने होला भनेर सोच्न थालेँ । हाम्रो समुदायको तर्फबाट उनलाई यो अवस्थामा नराखियोस र सरल प्रकृयाबाट कारबाही चलाइयोस् भन्ने माग लिएर प्रशासनमा जानु पर्यो भन्दै एकजना हितैषी थिए कोलकाता उच्च न्यायालयका अधिवक्ता, उनीसँग सल्लाह लिन पुगेँ । मेरा सबै कुरा सुनेर उनले आफ्ना कुरा मसँग राखे । “सहानुभूति राख्नु स्वभाविक हो, तर तिमी हाम्रो समुदायको तर्फबाट माग लिएर जाँदैछौ भने यो कुराको पनि ख्याल राख्नु पर्दछ, उनले हाम्रो समाज र समुदाय उत्थानको लागि के गरेका छन् र हाम्रो समाजले उनको तर्फबाट के पाएको छ,अनि मात्र तिमीले त्यस्तो मागकोसाथ प्रस्ताव लिएर जान मिल्छ”भन्ने सवाल राखे । यहाँबाट म अगाडि बढ्नुभन्दा पनि पछाडि फर्कन वाध्य हुनु पर्ने स्थिति बन्यो ।

यो कुरा सुनिसकेपछि मेरो मस्तिकष्क १८० डिग्रि घुमेर सोच्न वाध्य गरायो । म अब सोच्न थालेँ, उनी मात्र किन यस्ता मान सम्मान र आर्थिकले सुसम्पन्न नेपाली समुदायका व्यक्तिहरू कोलकातामा राणाहरूलगायत धेरै थिए तर तिनीहरूले केही पनि गरेका रहेनछन् । राणाहरू यहाँका रैथाने बनेर बसे उनीहरूले आफ्नो व्यापार कारोबार त राम्रैसँग चलाए तर समुदायको मिम्ति केही गर्नु पर्छ भन्ने बुद्धि पलाएन, हाम्रा अग्रजहरूलाई पनि त्यता ध्यान गएन, डा. छेत्रीजस्ता व्यक्तिहरूको त्यता ध्यान गएन या साथ सङ्गत पाएनन् । यहाँ बङ्गाली समुदायका कुरा उल्लेख गर्नु पर्ने आवश्यकता रहेन किनकी यो पश्चिम बङ्गाल हो । यहाँ माठवारीहरूका विभिन्न संस्थाहरू छन् भवानीपुर एडुकेशन कलेज, गोइन्का कलेज, माठवारी रेलिफ सोसाइटी, बिरलाहरूका स्कुल कलेज, बिरला हार्ट रिसर्च सेन्टर, र अन्य हस्पिटल, हिन्दी भाषीहरूका विभिन्न खाले स्कुल कलेज, मुस्लिमहरूका शिक्षण संस्था र हस्पिटलहरू, पंजाबीहरूका गुरुद्वारा, हस्पिटल, कलेज र खाल्सा स्कुल आदि । त्यस्तै महाराष्ट्रियनहरूका आफ्नै समुदायस्थल, महाराष्ट्र निवास, महाराष्ट्र भवन, जैनहरूका आफ्नै मठमन्दिर आदि र अन्य विभिन्न समुदायले त्यस्तै प्रकारका प्रतिष्ठानहरू निर्माण गरेका रहेछन् तर हाम्रा नेपालीभाषी समुदायहरूले भने कुनै प्रकारको सोच नराखेको देखियो । अब चैँ हामीहरूले पनि यसरी सोच्ने, मनन गर्ने र चिन्तन गर्ने बेला आएको छ ।

About Author

Advertisement