डा. पवन चामलिङद्वारा गणतन्त्र दिवसको शुभ-सन्देश

FB_IMG_1769423041968

गान्ताेक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका अध्यक्ष एवं सिक्किमका भूतपुर्व मुख्यमन्त्री डा.पवन चामलिङले आज सामाजिक संजाल मार्फत २६ जनवरी २०२६ गणतन्त्र दिवसको शुभ सन्देश व्यक्त गरे।
डा.चामलिङले संजालमा भने, आज गणतन्त्र दिवस मनाउँदै गर्दा, २६ जनवरी १९५० का दिन भारतको संविधान अंगीकारसँगै भारत एक सार्वभौम, लोकतान्त्रिक गणतन्त्रका रूपमा घोषित भएको ऐतिहासिक क्षणलाई स्मरण गर्छौं। यस दिन, संविधानद्वारा हामी—भारतका जनता—आफ्नो सरकार स्वयं चयन गर्ने र लोकतन्त्रका रूपमा आफ्नै भविष्यको मार्ग तय गर्ने अधिकारबाट सशक्त भयौं।
डा. चामलिङले बताए अनुसार भारतको संविधान, विश्वकै सबैभन्दा लामो लिखित संविधान, हामी आज बनेको राष्ट्र र भविष्यमा बन्ने आकांक्षा राखेको राष्ट्रको आधारशिला राख्न निर्माण गरिएको हो। यस वर्ष संविधान पूर्ण रूपमा लागू भएको ७७ वर्ष पूरा भएको छ।
डा. चामलिङले अझ भने, गणतन्त्र दिवस डा. भीमराव रामजी आम्बेडकरप्रति श्रद्धाञ्जली अर्पण गर्ने अवसर पनि हो, जो भारतको संविधानका प्रमुख शिल्पकार हुनुहुन्थ्यो। डा. आम्बेडकरको दृष्टि स्वतन्त्रता, समानता र भ्रातृत्वका आदर्शमा आधारित थियो। उहाँको अथक प्रयासले संविधानलाई सामाजिक न्यायको शक्तिशाली साधन बनायो, जसले सीमान्तकृत वर्गका अधिकारहरूको रक्षा गर्‍यो र प्रत्येक नागरिकको गरिमालाई सुनिश्चित गर्‍यो। यस अवसरमा, आजको स्वरूपमा संविधान निर्माण गर्न दीर्घ, गहन र सैद्धान्तिक बहसमा संलग्न संविधानसभा सदस्यहरूको अमूल्य योगदानलाई पनि हामीले सम्मान र कदर गर्नुपर्छ।
उनले यस गणतन्त्र दिवसमा नागरिकका रूपमा भारतको संविधानप्रति आफ्नो विश्वास पुनः दृढ गर्न साथै यही पवित्र दस्तावेज र यसले प्रत्याभूत गर्ने विधिको शासनले हाम्रा अधिकार र स्वतन्त्रताको रक्षा गर्ने बताए।
उनले थपे, संविधानको संरक्षण गर्नु हामी सबैको सामूहिक जिम्मेवारी हो; तब मात्र यसले राष्ट्र र जनताको निरन्तर सुरक्षा गर्न सक्छ। सिक्किमवासीका रूपमा भारतको संविधानसँगको सम्बन्ध विशेष र अद्वितीय छ। १६ मे १९७५ मा, भारतको स्वतन्त्रतापछि २८ वर्षपछि, सिक्किम जनमतसंग्रहमार्फत भारतको २२औँ राज्यका रूपमा विलय भयो। यो विलय इतिहासमा दुर्लभ र उल्लेखनीय उदाहरण हो, सिक्किमका जनताले स्वेच्छाले भारतसँग एकीकरण गर्ने उच्चतम देशभक्तिको अभिव्यक्ति हो।
डा. चामलिङले यस योगदानलाई मान्यता दिँदै र सिक्किमको विशिष्ट पहिचान जोगाउन आवश्यक ठानी, भारतको संविधानमा विशेष प्रावधान, अनुच्छेद ३७१(एफ)—समावेश गरिएको छ भने। उनले अनुच्छेद ३७१(एफ)लाई प्रायः ‘सिक्किमको सानो संविधान’ भनेर वर्णन गरिन्छ। यस प्रावधानमार्फत, विलयपूर्व विद्यमान भूमिसम्बन्धी अधिकार, पहिचान र विशेषाधिकारहरू कायम राख्दै सिक्किमवासी भारतीय नागरिक बनेको उल्लेख गरे साथै भारतको अङ्ग बनेर, सिक्किमले आफ्नो समृद्ध संस्कृति, इतिहास र पहिचानसँगै राष्ट्रको विविधतामय संरचनालाई अझ समृद्ध बनाएको कुरा गरे।
यसरी नै उनले अनुच्छेद ३७१ (एफ)ले सिक्किमवासी जनतालाई विशेष संवैधानिक संरक्षण प्रदान गरेको जनाए भने यसमा विशेषतः सिक्किम सब्जेक्ट प्रमाणपत्रधारी, १९६१ को सिक्किम सब्जेक्ट रजिस्टरमा दर्ता भएका व्यक्ति तथा तिनका सन्तानका लागि हो भने।
उनले यस गणतन्त्र दिवसमा, सबैले गहिरो आत्ममन्थन गरे, के सिक्किमेले सिक्किमका लागि विशेष भएका संवैधानिक अधिकार र जिम्मेवारी अनुसार जीवनयापन गरेका छन्? के अनुच्छेद ३७१ (एफ) मार्फत उपलब्ध संरक्षणलाई पर्याप्त रूपमा जोगाएका र सदुपयोग गरेका छन्? भनि प्रश्न तेर्साए। डा.चामलिङले सिक्किमवासी जनतालाई, विशेष गरी युवा र पहिलोपटक मतदाता बन्नेहरूलाई, सिक्किमको विशिष्ट पहिचानको रक्षा गर्ने अनुच्छेद ३७१ (एफ)को संरक्षणप्रति सतर्क र प्रतिबद्ध रहन आग्रह गरे।
अन्तमा चामलिङले यी अधिकारहरू सम्झनु मात्र होइन, तिनको रक्षा, संरक्षण र सचेत तथा जिम्मेवार रूपमा प्रयोग गर्नु सबैको कर्तव्य ठहर्याए। यो गणतन्त्र दिवसमा गम्भीर जिम्मेवारीमाथि सबैले आत्मचिन्तन गर्न अपिल गर्दै सिक्किमका सम्पूर्ण जनतालाई गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरे।

About Author

Advertisement