खरसाङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव गीतकार डा जस योञ्जन प्यासीलाई छिनलता गीत पुरस्कार प्रदान गरिएको छ। डा जस योञ्जन प्यासी बिमारीको कारण काठमाण्डौंमा उपस्थित हुन नसके पनि उनकी पत्नी रुकमित लेप्चा काठमाण्डौं पुगेर आफ्नो पति डा जस योञ्जन प्यासीको अनुपस्थितिमा छिन्नलता गीतकार पुरस्कार ग्रहण गरेकी छन्। उनले छिन्नलता गीतकार पुरस्कार २०७६ कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित नेपालका प्रधानमन्त्री केपी ओली र छिन्नलता पुरस्कार गुठीको अध्यक्ष डा बासुदेव त्रिपाठीको बाहुलीबाट ग्रहण गरेकी छन्। डा जस योञ्जन प्यासी छिन्नलता गीतकार पुरस्कार प्राप्त गर्ने प्रथम भारतीय नेपाली गीतकार हुन् । उक्त पुरस्कारको रुपमा स्मृति चिन्हसहित नगदराशि पचास हजार (नेपाली रुपियाँ) प्रदान गर्ने गरिन्छ। छिन्नलता गीतकार पुरस्कार प्राप्त गरेकोमा डा जस योञ्जन प्यासीले खुशी व्यक्त गर्दै मेरो यत्रो वर्षको गीतमाथि गरेको साधनालाई हेरेर मूल्यांकन गरिदिएकोमा म खुशी छु भनी बताएका छन् । उनले यो पुरस्कार मेरो मात्र होइन तर सम्पूर्ण दार्जिलिङ क्षेत्रका गीतकारहरूको हो भन्दै यो छिन्नलता गीतकार पुरस्कारको लागि म लगायत सम्पूर्ण दार्जिलिङ क्षेत्रका गीतकारहरूको पक्षबाट छिन्नलता पुरस्कार गुठीप्रति आभार प्रकट गर्दछु भनी बताएका छन्।
छिन्नलता गीत पुरस्कार गुठीले वर्ष २०७६,२०७७ र २०७८ सालको पुरस्कारहरू प्रदान गरिएको छ। उक्त पुरस्कारहरूमा डा जस योञ्जन प्यासीलाई गीतकारको रुपमा छिन्नलता गीतकार पुरस्कार २०७६ प्रदान गरिएको छ। उनीसितै २०७६ को संगीतकार पुरस्कारमा हरि लम्साल, गायनमा सुनिता सुब्बालाई पनि पुरस्कार प्रदान गरिएको छ। त्यसरी नै २०७७ छिन्नलता पुरस्कारको लागि गीतकारमा आनन्द अधिकारी, संगीतकारमा शान्तिराम राई र गायनमा शम्भु राई अनि २०७८ मा गीतकार बसन्त चौधरी, संगीतकार आनन्द राई र गायनमा पवित्र सुब्बालाई प्रदान गरिएको छ। यी सबै पुरस्कारहरू छिन्नलता पुरस्कार गुठीको संस्थापिका तथा गीतकार रमोलादेवी शाह छिन्नलताको जन्म दिनको दिन प्रदान गरिएको छ।










