२० जुलाईः ईंग्ल्याण्डका अनुभवी क्रिकेटर स्टुअर्ट ब्रड एशेज सीरीज २०२३-को चौथो म्याचको पहिलो दिन बुधवार टेस्ट क्रिकेटमा ६०० विकेट लिने दोस्रो पेस बलर बने। ओल्ड ट्रेफर्डमा जारी टेस्ट म्याचको पहिलो दिन ३६ वर्षीय ब्रडले अष्ट्रेलियाका देब्रे हातका ब्याटर ट्रेविस हेडलाई आउट गर्नको साथै यस ऐतिहासिक उपलब्धिलाई हासिल गरे। उनी ईंग्ल्याण्ड टीमका साथी खेलाड़ी जेम्स एण्डरसनपछि टेस्ट क्रिकेटमा ६०० या त्यसभन्दा अधिक विकेट लिने एकमात्र बलर हुन्। समग्रमा ब्रड टेस्ट क्रिकेटमा ६०० या त्यसभन्दा अधिक विकेट लिने पाँचौं बलर हुन्। यस सूचीमा ८०० विकेटको साथ श्रीलंकाका मुथैया मुरलीधरन शीर्ष स्थानमा रहेका छन्। त्यसपछि अष्ट्रेलियाका शेन वार्न (७०८) दोस्रो, एण्डरसन (६८८) तेस्रो अनि भारतका अनिल कुम्बले (६१९) पाँचौं स्थानमा रहेका छन्।
ओल्ड टेफर्ड टेस्ट शुरु हुन अघि ब्रडको नाममा ५९८ विकेट रहेको थियो। उनले उस्मान ख्वाजालाई आउट गरी आफ्नो विकेटको संख्यालाई ५९९ पुऱ्याए। तेस्रो सत्रको खेलमा ब्रडले हेडलाई आउट गरी ६०० विकेट पूरा गरे। ब्रडले २००७-मा श्रीलंका विरुद्ध कोलम्बोमा ईंग्ल्याण्डको निम्ति टेस्ट पदार्पण गरेका थिए। उनले पहिलो विकेटको रूपमा चामिण्डा भासलाई आउट गरेका थिए। उनले अहिलेसम्म १६६ वटा टेस्ट म्याच खेलिसकेका छन् अनि ४ पल्ट एशेज सीरीज विजेता टीमका सदस्य रहिसकेका छन्। एकजना पेस बलरको रूपमा यति लामो समयसम्म आफ्नो शारीरिक र मानसिक फिटनेसलाई सही राख्नु अविश्वसनीय कुरा हो। ब्रडले आफ्नो ६०० विकेट २७.५७-को औसतले लिएका छन्। यसमा २० पल्ट ईनिंग्समा ५ विकेट अनि तीनपल्ट म्याचमा १० विकेट सामेल छ। उनले अष्ट्रेलिया विरुद्ध ३९ वटा टेस्ट म्याचमा सर्वाधिक १४९ विकेट लिएका छन्। यसमा उनले १७ पल्ट त अष्ट्रेलियाका स्टार ओपनर डेविड वार्नरलाई नै आउट गरेका छन्।











