काेलकत्ता: दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरी न्यूजील्याण्डले टी२० वर्ल्ड कप २०२६-को फाइनलमा प्रवेश गऱ्यो। म्याचमा न्यूजील्याण्डको एकतर्फी जीतमा फिन एलन नायक रहे। उनले साथी ओपनर टिम साइफर्टसँग मिलेर पहिलो विकेटको निम्ति शतकीय पार्टनरशीप गरेर दक्षिण अफ्रिकी टीमको सातो खाए। एलनले अविजित १०० रन बनाएर टीमलाई जीत दिलाउनको साथै एकाधिक रेकर्ड पनि बनाए। एलनले म्याचमा केवल ३३ बलमा शतक पूरा गरे। यो टी२० वर्ल्ड कपको इतिहासमा कुनै पनि ब्याटरको सबैभन्दा तेज शतक हो। उनले वेष्ट इण्डिजका क्रिस गेलको रेकर्ड तोड़े, जसले २०१६-मा ईंग्ल्याण्डविरुद्ध वानखेड़े स्टेडियममा ४७ बलमा शतक बनाएका थिए। यसरी एलन न्यूजील्याण्डको निम्ति टी२० इण्टरनेशनलमा सबैभन्दा तेज शतक बनाउने खेलाड़ी पनि बनेका छन्। उनले साथी खेलाड़ी ग्लेन फिलिप्सको रेकर्ड तोड़े, जसले वेष्ट इण्डिजविरुद्ध २०२०-मा ४६ बलमा शतक बनाएका थिए। यसबाहेक टी२० इण्टरनेशनलमा यो कुनै पनि ब्याटरद्वारा बनाइएको संयुक्त रूपले तेस्रो सबैभन्दा तेज शतक पनि हो। फिन एलन, यान निकोल लफ्टी-ईटन र जिम्बाब्वेका सिकन्दर रजाले ३३-३३ बलमा शतक बनाएका छन्। यस सूचीमा इस्टोनियाका साहिल चौहान शीर्षमा छन्, जसले साइप्रसविरुद्ध २०२४-मा केवल २७ बलमा शतक बनाएका थिए। यसबाहेक आईसीसीको पूर्ण सदस्य देशविरुद्ध एलनको शतक सबैभन्दा तेज हो। एलनले बुधवार राति टी२० वर्ल्ड कपको नक्आउट म्याचमा सर्वाधिक स्कोरको रेकर्ड पनि बनाए। यसअघि २००९-को सेमिफाइनलमा श्रीलंकाका तिलकरत्ने दिलशानले वेष्ट इण्डिजविरुद्ध अविजित ९६ रन बनाएका थिए। यसरी एलन टी२० वर्ल्ड कपमा न्यूजील्याण्डको निम्ति शतक बनाउने तेस्रो ब्याटर बनेका छन्। यसअघि ब्रेण्डन म्याक्कुलम (१२३ रन) र ग्लेन फिलिप्स (१०४ रन)-ले शतक बनाएका थिए।









