जोहानिसबर्ग: दक्षिण अफ्रिकाका विध्वंशी ब्याटर डेविड मिलरले टी२० वर्ल्ड कप २०२४-को फाइनलमा हारपछि सन्न्यासको खबरहरूलाई खारेज गरेका छन्। टी२० इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिने खबरहरूबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै मिलरले सोशल मीडियामा यस्तो जानकारी दिएका छन्। मिलरले आफ्नो इन्स्टाग्राम स्टोरीमा सन्न्यासको सम्भावनालाई खारेज गर्दै उनको सर्वश्रेष्ठ प्रदर्शन आउनु बाँकी नै रहेको बताएका छन्। मिलरले पोस्टमा लेखेका छन्, केही रिपोर्टहरूको विपरीत मैले टी२० इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएको छुइन। म प्रोटियाजको निम्ति खेल्न जारी राख्नेछु। सर्वश्रेष्ठ प्रदर्शन आउनु बाँकी नै छ। मिलरले उनी खेलको सबैभन्दा छोटो प्रारूपमा राष्ट्रिय टीमको निम्ति खेल्न उपलब्ध रहने बताएका छन्।
दक्षिण अफ्रिकाले गत शनिवार खेलिएको आईसीसी टी२० वर्ल्ड कपको फाइनलमा भारतविरुद्ध ७ रनले निराशाजनक हारको सामना गर्नु परेको थियो। फाइनलमा जीत हासिल गर्न दक्षिण अफ्रिकालाई अन्तिम ५ ओभरमा केवल ३० रनको आवश्यकता थियो तर टीमले त्यति रन पनि बनाउन सकेन। फाइनलमा हारपछि मिलरलाई निक्कै भावुक देखिएको थियो। टी२० वर्ल्ड कप २०२४-मा भारत र दक्षिण अफ्रिका दुवैले एउटा म्याच पनि नहारी फाइनलमा स्थान बनाएको थियो तर अन्तमा ट्रफी चाहिँ रोहित शर्माको कप्तानीमा रहने टीमले हासिल गऱ्यो।










