नयाँ दिल्ली: शिक्षक पात्रता परीक्षा (टीईटी) अनिवार्य गर्ने विषयमा भारतभरका शिक्षकहरूको विरोध चर्किएको छ। यही क्रममा शनिबार नयाँ दिल्लीस्थित रामलीला मैदान मा हजारौं शिक्षकले विशाल प्रदर्शन गरेका छन्।
टीचर्स फेडरेशन अफ इंडिया (टीएफआई) को आह्वानमा आयोजित प्रदर्शनमा विभिन्न राज्यबाट आएका शिक्षकहरूले आफ्ना माग राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
शिक्षक संगठनहरूको भनाइअनुसार सर्वोच्च अदालतको आदेशपछि टीईटी अनिवार्य बनाइँदा लाखौं शिक्षकको रोजगारी जोखिममा परेको छ। उनीहरूले आदेश कार्यान्वयनअघि कानुनी व्यवस्था गरेर पुराना शिक्षकलाई राहत दिन माग गरेका छन्।
प्रदर्शनमा सहभागी शिक्षकहरूले वर्षौंदेखि सेवा गर्दै आएका शिक्षकलाई पुनः परीक्षा दिन बाध्य पार्नु व्यवहारिक नभएको बताएका छन्। “२०–२५ वर्षदेखि पढाइरहेका शिक्षकलाई फेरि परीक्षा दिन लगाउनु न्यायसंगत हुँदैन,” एक शिक्षकले भने।
देशका विभिन्न स्थानबाट बस तथा समूहमा आएका शिक्षकहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका थिए। उनीहरूले माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।
हालसम्म सरकारको तर्फबाट यस विषयमा ठोस प्रतिक्रिया आएको छैन। तर टीईटी अनिवार्यताविरुद्धको यो आन्दोलन राष्ट्रिय बहसको विषय बनेको छ।










