अमेरिकाको सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ। गएराति अमेरिकाको सर्वोच्च अदालतले यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा कानूनअनुसार भोलिदेखि प्रतिबन्धमा पर्ने फैसला गरेको छ। सर्वोच्च अदालतको फैसलापछि सरकारले अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ्ग सेवाबाट हटाउने छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। मुद्दाको फैसला गर्दै सर्वोच्चले सरकारको कानुनी निर्णय ठिक हो भनेको छ। सर्वोच्च अदालतको फैसलापछि चिनियाँ कम्पनी टिकटकले यदि अमेरिकी सरकारले कुनै कदम चालेन भने भोलिदेखि अमेरिकामा आफ्नो गतिविधि बन्द गर्ने बताएको छ। टिकटकले विज्ञप्ती जारी गरेर भनेको छ, ‘जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएका छन्, यदि अमेरिकी सरकारले बयान जारी गरेर आश्वासन दिँदैन भने, हामी १९ जनवरीमा सबै गतिविधिहरू रोक्न बाध्य हुनेछौँ।’ आफ्नो कार्यकाल सकिने अन्तिम दिनहरुमा राष्ट्रपति बाइडेनले यो निर्णयमा पुनरावलोकन गर्ने सम्भावना छैन। यस्तो अवस्थामा धेरैको नजर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ सोझिएको छ। पहिलो कार्यकालमा टिकटकप्रति आक्रामक देखिएका ट्रम्पले अहिले भने यसमाथि अहिले नै प्रतिबन्ध नलगाउने भाषण गर्दै आएका छन्। यसबारेमा टिकटकका मालिकसँग ट्रम्पले कुराकानी गरिसकेका छन्।









