दार्जिलिङ: टर्चलाइट निभ्दैन, गोर्खाको सशक्त विधायक पठाऔं भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले चालकहरुलाई सम्बोधन गर्दै बताएका छन्। उनले भने, आज पार्वतीय चालक महासङ्घको स्थापनाको दिन ऐतिहासिक रह्यो। लगभग ३० वटा सङ्गठनका साथीहरू जुटेर नयाँ पार्वतीय चालक सङ्घ बनायौं। यो सङ्घले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) लाई समर्थन जनाउने निर्णय गरेको छ।हामीले सबै चालक साथीहरूबाट टर्चलाइटको चिन्हमा भोट मागेका छौं किनभने त्यही चिन्हले हाम्रो पार्टीको उम्मेदवारलाई विजयी बनाउनेछ।’
उनले अघि भने, ‘आजको बैठकमा चालकहरूले आफूले भोग्दै आएका थुप्रै समस्याहरू मसँग राखे। मैले ती समस्याहरू ध्यानपूर्वक सुनें। त्यसपछि मैले सबै चालक भाइहरूलाई आग्रह गरें “तपाईंहरूको गाडीमा विभिन्न किसिमका मानिस चढ्छन्। उनीहरूलाई यसो भनिदिनुहोस्: ‘दार्जिलिङको उम्मेदवार पढेको मान्छे छ है। गोर्खा समुदायले पनि विधानसभामा एउटा यस्तो विधायक पठाउनैपर्छ जो बङ्गाली बहुल सदनमा मुख खोलेर बोल्न सकोस्।’ हामी गोर्खा समुदायमा पनि दिग्गज व्यक्तिहरू छन् भन्ने सन्देश यसपालि शिक्षित विधायक बनाएर दिनुपर्छ।”
उनले भने, ‘हाम्रो संगठनको चुनाव चिन्हबारे पनि स्पष्ट पार्न चाहन्छु कि पञ्चायत, जीटीए जस्ता राज्य अधिनस्थ चुनावमा हाम्रो चिन्ह क्यान्डल हुनेछ। तर भारतीय चुनाव आयोगले सञ्चालन गर्ने एमएलएको चुनावमा हाम्रो चिन्ह टर्चलाइट रहनेछ। यो टर्चलाइट पानीले निभ्दैन, हावाले पनि निभाउँदैन। हामीले धेरै राम्रो र दमदार चिन्ह पायौं।’
थापाले चालकहरूलाई यो पनि भनें “तपाईंहरूले सिधा भोट माग्नु नपर्ला, तर हाम्रो पार्टीको उम्मेदवारलाई जिताउन पार्टीले बनाएका चुनावी गीतहरू आफ्नो गाडीमा बजाइदिनुहोस्। हुनसक्छ गीत सुन्दासुन्दै विपक्षीहरू पनि हाम्रो पक्षमा आउन थालून्!”
अन्त्यमा भने, ‘एउटा यथार्थ पनि बुझाउन चाहन्छु कि यसपालि पश्चिम बङ्गालमा सरकार टीएमसीले नै बनाउनेछ। हामी टीएमसीको गठबन्धनको हिस्सा हौं। त्यसैले हामीले आफ्नो पार्टीको विधायक पठाउन अत्यन्तै जरुरी छ। हामी सबैले टर्चलाइट चिन्हमा एकजुट भएर भोट दियौं भने मात्र हाम्रो आवाज सदनमा पुग्छ।’










