टर्कीमा भूकम्पका मृत्यु हुने संख्या ५ हजार नाघ्यो

00-Earthquake-Turkey

टर्कीको पूर्वी भाग र छिमेकी देश सिरियामा सोमबारको भूकम्पमा परी हालसम्म पाँच हजार बढीको मृत्यु भएको छ। सोमबार टर्कीमा ७.८ म्यागनिट्युडको भुइँचालो आएको थियोl भुइँचालोका कारण  भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन्। यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या बढ्नसक्ने आपत्कालीन सुरक्षाकर्मीले बताएका छन्। उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न देशले सहयोगी टोली परिचालन गरेका छन्। टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन्। करिब ३ हजार भवन भत्केका हुनाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ। कठ्याङ्ग्रिने जाडो तथा बारम्बारको पराकम्पनका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा गर्न कठिन कार्य भएको छ। अहिलेसम्म करिब दुई सय पराकम्पन  भएका हुनाले जोखिम मोलेर उद्धारमा जुट्न विलम्ब भएको छ।

हाताए प्रान्तको राजधानी अन्तक्या नगरकी नरगुल अतायाले भग्नावशेषबाट आफ्नी आमाले गुहार मागेको धेरै बेर भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई बताइन्। पर्याप्त उद्धारकर्मी र भग्नावशेष पन्साउने विशाल उपकरण नहुँदा उनकी आमाको उद्धार हुनसकेको छैन। सत्तर वर्षकी आफ्नी आमाले भग्नावशेषमा आफूलाई सम्हाल्न नसक्ने दुखेसो उनको छ। भूकम्पको केन्द्रविन्दुभन्दा दक्षिणपश्चिमको हाताए प्रान्तका एक हजार पाँच सय भवनमा क्षति भएको छ। भवनका भग्नावशेषमा फसेका धेरै मानिस उद्धारको प्रतीक्षामा छन्।

टर्कीको दक्षिणपूर्वी प्रान्त काह्रामानमारास केन्द्र भएर भएको शक्तिशाली भूकम्पको धक्काले दमास्कस र बेरुतका बासिन्दालाई घरबाट बाहिर निस्कन बाध्य पारेको थियो भने काह्रामानमारासभन्दा धेरै पर अवस्थिति इजिप्टको राजधानी कायरोमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो। भूकम्पपीडितहरूले खेलस्थल, व्यापार मेला आयोजना गर्ने स्थानका साथै खुला आकाशमुनि आगो बालेर रात गुजारेका थिए। चिकित्सा सहायता प्रदान गर्ने डक्टर्स विदाउट बोडर्सले सिरियाको इड्लिब प्रान्तमा आफ्ना सहकर्मीलाई गुमाएको बताएको छ। साथै ती डाक्टरका परिवारका अन्य सदस्यको पनि भैँचालोमा ज्यान गएको छ। सिरियास्थित उक्त संस्थाका प्रमुख सेवास्टियन गेले उत्तरी सिरियामा घाइतेहरूको ठूलो भीड लागेकाले दिनरात चिकित्साकर्मी उपचारमा संलग्न भएका बताएका छन्।

सिरियासँगको सीमा क्षेत्रमा परिचालन भएका देशका सैनिकलाई उद्धारमा परिचालन गरिएको टर्कीका रक्षामन्त्री हुलुसी अकरले बताएका छन्। सेनाको अङ्कारास्थित मानवीय सहायता गुल्म पनि सहायताका निम्ति काममा खटिएको छ। आठवटा सैनिक टोलीले प्रभावित क्षेत्रमा सेवा खोजतलासका काम जारी राखेको छ। मन्त्री हुलुसीका अनुसार जल सेना पनि सहयोगका निम्ति तयार रहेको छ। गाजीयान्तेप शहरका बासिन्दाले खेलमैदान, रङ्गशाला, किनमेल केन्द्र, मस्जिद र सामुदायिक केन्द्रहरूमा आश्रय लिएका छन्। टर्कीका राष्ट्रपति रिसेप ताइएप एर्दागानले सात दिन राष्ट्रिय शोक घोषणा गरेका छन्। यसैगरी सिरिया सरकारको अधिनमा रहेका भूभागमा ७६९ जनाको मृत्यु भएको छ भने १,४५० जना घाइते भएका छन्। विद्रोहीको पकड रहेको उत्तरपश्चिमी भेगमा ४५० जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन्।

About Author

Advertisement