झापा (दमक): झापा प्रहरीले छापा मारेर झापा शिवसताक्षीको एक होटेलबाट सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट नगद पनि बरामद गरिएको छ।
जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले हिजो राति साढे ८ बजे शिवसताक्षी-९ दुधेस्थित विनोद खरेलको घरमा रहेको सगरमाथा होटेलमा छापामा पारेको थियो। त्यस क्रममा जुवाको खालबाट १२ जना जुवाडे पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा शिवसताक्षी–६ का ५० वर्षीय मिलन भण्डारी, सो वडाका ४२ वर्षीय नविन तिम्सिना, शिवसताक्षी ९ का ३९ वर्षीय विनोद खरेल (घर तथा होटेल सञ्चालक), सो वडाका ४७ वर्षीय दिपक तामाङ, सो वडाका ३९ वर्षीय प्रकाश लिम्बू, ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, ४१ वर्षीय खगेन्द्र उप्रेती, २० वर्षीय सौगात मैनाली, शिवसताक्षी ११ का ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सो वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा र भारत कोलकाताका ४१ वर्षीय परितोष पल रहेका छन्।
घरको तेस्रो तलामा प्रहरीले छापा मारेर एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।









