गान्तोक। झारखण्डका विद्यार्थी अनि शिक्षकहरू अतिथिहरूप्रति सिक्किम सरकारको व्यवहारसँग मन्त्रमुग्ध बनेका छन्। सिक्किम घुम्न आएको समय गत २८ जूनको दिन आफूहरूको बस दुर्घटनाग्रस्त भएपछि जुन संकटको घड़ी थियो त्यो समय सिक्किम सरकारद्वारा गरिएको पहलप्रति कृतज्ञता व्यक्त गर्दै सेन्ट जेभियर कलेज राँची झारखण्डका फादर फ्लोरेन्स पुर्टीले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम सरकार, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, डा. सन्दीप कश्यप साथै सम्पूर्ण अधिकारीहरूप्रति धन्यवाद दिएका छन्। प्रत्येकले तत्कालै सहयोग पुऱ्याएको साथै उपचार, बस्नु-खानु आदिको उत्कृष्ट सुविधा उपलब्ध गराएको सिक्किमले जुन सहयोग दियो त्यो हृदयस्पर्शी रहेको फादर पुर्टीले बताएका छन्। राज्य सरकारको विशेष पहलमा यहाँको मणिपालमा उपचाराधीन अन्य विद्यार्थीहरू पनि चाँड़ै स्वस्थ हुने उनले आशा व्यक्त गरेका छन्।
जानकारी गराइन्छ, राष्ट्रिय राजमार्ग १० अन्तर्गत गान्तोक ७ माइलमा गत २८ जूनको दिन भएको बस दुर्घटनामा घाइते बनेका ६३ विद्यार्थीमध्ये ४५ जना हिजो स्वस्थ बनेपछि झारखण्ड प्रस्थान गरेका छन्। अन्यको मणिपाल अस्पतालमा उपचार चलिरहेको छ।
स्मरण रहोस्, गत २८ जूनको दिन झारखण्डको राँचीबाट सिक्किम शैक्षिक भ्रमणमा आएको एउटा बस यहाँको ७ माइलमा दुर्घटनाग्रस्त बनेको थियो। बसमा सवार सबै विद्यार्थीहरूलाई सिक्किम सरकारको पहलमा तत्कालै मणिपाल अस्पतालमा भर्ना गरेर उपचारको व्यवस्था गरिएको थियो।










