झारखण्ड सशस्त्र पुलिसमा कार्यरत् महानदीका जवान जयदेव प्रधान राष्ट्रपति पदकबाट सम्मानित

IMG-20260128-WA0079

खरसाङ: झारखण्ड सशस्त्र पुलिसमा कार्यरत् महानदी निवासी जवान जयदेव प्रधान ‘राष्ट्रपति पदक’ बाट सम्मानित भएका छन्। कर्तव्यप्रतिको निष्ठा, इमान्दारी र स्वच्छ छविका धनी जयदेव प्रधानलाई यस वर्षको गणतन्त्र दिवसको पावन अवसरमा प्रतिष्ठित ‘राष्ट्रपति पदक’ बाट सम्मानित गरिएको छ।कर्तव्यनिष्ठताको उचित कदर
सन् २००३ ब्याचका महानदी निवासी जयदेव प्रधान वर्तमानमा झारखण्ड सशस्त्र पुलिस, प्रथम वाहिनी, राँचीमा कार्यरत छन्। आफ्नो २२ वर्ष लामो सेवा अवधिमा उनले विभागमा एक अनुशासित र कर्तव्यपरायण व्यक्तिको रूपमा पहिचान बनाएको र उनको यही निष्ठापूर्वक सेवा र कार्यकुशलतालाई मध्यनजर गर्दै भारत सरकारले उनलाई यो उच्च सम्मान प्रदान गर्ने घोषणा गरेको हो। जयदेव प्रधानको यो उपलब्धि झारखण्ड सशस्त्र पुलिस र गोर्खा समुदायमा खुशीको क्षण रहेको बताइएको छ‌। उनको कार्यकालमा उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो ड्युटीलाई प्राथमिकतामा राख्दै आएको उनको सहकर्मीहरू बताउँछन्।
‘यो सम्मान मेरो एक्लो प्रयास मात्र नभई विभागको मार्गदर्शन र परिवारको अटुट समर्थनको प्रतिफल हो,” प्रधानले विनम्रताका साथ बताएका छन्। उनले आफ्नो यस सफलताको विशेष श्रेय विभागका सेवानिवृत्त अग्रज बीरुनारायण प्रधान (महानदी बजार निवासी), उच्च पदाधिकारीहरू र सहकर्मी जवानहरूलाई दिँदै उनीहरूलाई नै आफ्नो प्रेरणाको मुख्य स्रोत बताएका छन्।

About Author

Advertisement