नाम्ची(सिक्किम): सञ्चार तथा उत्तरपूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन प्रसिद्ध तेमी चिया बगानको भ्रमण गरेका छन्। सिक्किमको एकमात्र चिया बगानमा पुगेर उनले चिया मजदुरहरूसँग समय बिताउँदै उनीहरूको कामप्रति सम्मान व्यक्त गरे।
भ्रमणका क्रममा मन्त्री सिन्धियाले चियापत्ती टिप्ने मजदुरहरूसँग आत्मीय संवाद गरेका थिए। उनले विश्वभर प्रशंसित सिक्किमको चिया परम्परालाई जोगाइराख्न मजदुरहरूले पुर्याएको योगदानको खुलेर प्रशंसा गरे।
यस अवसरमा मन्त्री सिन्धियाले परम्परागत बाँसको डोको बोकेर मजदुरहरूसँगै चियापत्ती टिपेका थिए। उनले चियापत्ती टिप्ने क्रममा मजदुरहरूले देखाएको तीव्रता, सटीकता र सीपको सराहना गर्दै यस्तो दक्षता वर्षौंको मेहनत, अनुशासन र समर्पणबाट सम्भव भएको बताएका थिए।

कार्यक्रमलाई अझ आत्मीय बनाउँदै मन्त्री सिन्धियाले मजदुरहरूसँग नेपाली भाषामा सहज संवाद गरेका थिए। उनको नेपाली भाषाप्रतिको आत्मीयताले चिया बगानभरि खुसी र अपनत्वको वातावरण सिर्जना गरेको थियो।










