जेम्स फोस्टरलाई फील्डिंग कोच बनायो सीएसके-ले

IMG-20260317-WA0058

नयाँ दिल्ली: चेन्नई सुपर किंग्सले जेम्स फोस्टरलाई नयाँ फील्डिंग कोच नियुक्त गरेको छ। उनले मुख्य प्रशिक्षक स्टीफन फ्लेमिंगको मार्गदर्शनमा ब्याटिंग प्रशिक्षक माइकल हसी र बलिंग प्रशिक्षक एरिक सिमन्ससँग काम गर्नेछन्। यसअघि फोस्टरले काेलकत्ता नाइट राइडर्स (केकेआर)-को निम्ति फील्डिंग र सहायक प्रशिक्षकको रूपमा धेरै सीजनमा काम गरेका थिए। फोस्टरले सीएसके-मा विकेटकीपरसँग पनि काम गर्नेछन्। सीएसके-मा रहने विकेटकीपरहरूमा पूर्व कप्तान एमएस धोनी र हालै टी२० वर्ल्ड कपमा प्लेयर अव् द टुर्नामेण्ट रहने सञ्जु सेमसन सामेल छन्। ५ पल्टको आईपीएल च्याम्पियन सीएसके-ले सोशल मीडियामा लेखेको छ, हामी फील्डिंग कोच जेम्स फोस्टरलाई न्यानो स्वागत जनाउँछौं। ईंग्ल्याण्डका पूर्व विकेटकीपर तथा विश्वभरिका टीमहरूसँग कोचिंगको अनुभव राख्ने जेम्सले अब गर्वको साथ आफ्नो नयाँ यात्राको शुरुवात गरिरहेका छन्। १५ अप्रेल १९८०-मा एसेक्समा जन्मिएका फोस्टरले विकेटकीपर-ब्याटरको रूपमा अक्टोबर २००१-मा अन्तर्राष्ट्रिय स्तरमा पदार्पण गरेका थिए। उनले ईंग्ल्याण्डको निम्ति ७ वटा टेस्ट म्याच खेलेर २२६ रन बनाए अनि १७ जना खेलाड़ीलाई क्याच आउट गरे। टेस्टमा उनले एउटा स्टम्पिंग पनि गरेका थिए। यसरी ११ वटा वनडे म्याचमा फोस्टरले ४१ रन बनाउनको साथै १३ जना खेलाड़ीलाई क्याच आउट गरेका थिए। वनडेमा उनले ७ जनालाई स्टम्प्ड पनि गरेका थिए। आफ्नो करियरमा ५ वटा टी२० इण्टरनेशनल म्याच खेल्ने फोस्टरले २०१८-मा खेलाड़ीको रूपमा सन्न्यास लिएका थिए। त्यसपछि उनी प्रशिक्षकको रूपमा फ्रेञ्चाइजी क्रिकेटमा सक्रिय छन्। आईपीएल २०२६-मा सीएसके-को पहिलो म्याच ३० मार्चमा राजस्थान रोयल्सविरुद्ध रहेको छ।

About Author

Advertisement