जेनजी आन्दोलनको छानबिन प्रतिवेदन: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस

IMG-20260308-WA0044

नेत्रविक्रम बिमली

बिरतामोड: जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको जनाएको छ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले करिब पाँच महिनाको अनुसन्धानपछि आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार प्रतिवेदनमा गल्ती गर्ने जिम्मेवार व्यक्तिहरूमाथि कानुनी कारबाहीको सिफारिस गरिएको छ।
प्रतिवेदन अनुसार जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र हिंसात्मक घटनामा उच्च तहका सरकारी अधिकारीहरूको जिम्मेवारी औँल्याइएको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा काठमाडौं जिल्ला सुरक्षा समितिका अध्यक्षमाथि फौजदारी कानुनअनुसार मुद्दा चलाउन सुझाव दिएको हो।
भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर धेरै प्रदर्शनकारीको मृत्यु भएको थियो। आयोगले ती घटनाको छुट्टाछुट्टै अध्ययन गर्दै अत्यधिक बल प्रयोगको जिम्मेवारी निर्धारण गरेको जनाएको छ।
यसैबीच, आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरूमाथि पनि फौजदारी मुद्दा चलाउन आयोगले सरकारलाई सिफारिस गरेको छ।

About Author

Advertisement