जुम्लामा २० हजार मेट्रिक टन स्याउ उत्पादन

IMG-20241101-WA0203

जुम्ला: जुम्लामा यो वर्ष २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ। कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको जनाएको छ।
जुम्लाका आठवटै स्थानीय तहको स्याउ विक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ।
ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले बताए। उनले भने , ‘बसबाट एक हजार छ सय ६० मेट्रिक टन, जिप र हाइसबाट छ सय ६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ।’
त्यस्तै मालवाहक ट्रकबाट छ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ। आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन्। जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य नेपाली रुपैयाँ ६० मा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ।

About Author

Advertisement