पवनदीप राजन र पूर्ण राईको प्रस्तुतिले माहोल रौनकमय
गान्तोक। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) आज साँझ गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजित ‘४९औँ योनेक्स–सनराइज अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप’ को समापन समारोहमा सहभागी हुनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै मुख्यमन्त्री गोलेले समारोहमा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको उल्लेख गर्नुभएको छ। देशका विभिन्न भागबाट आएका युवा ब्याडमिन्टन खेलाडीहरूले उच्च उत्साह र साँचो खेल भावनाका साथ प्रतिस्पर्धा गरेको देख्दा अत्यन्तै आनन्द महसुस भएको उहाँले बताउनुभएको छ।
समापन समारोहको साँझलाई लोकप्रिय भारतीय गायक पवनदीप राजन र चर्चित नेपाली गायक पूर्ण राईको विशेष साङ्गीतिक प्रस्तुतिले अझ रौनकमय र जीवन्त बनाएको मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ।

प्रतिष्ठित राष्ट्रियस्तरको यस च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेकोमा मुख्यमन्त्री गोलेले सिक्किम ब्याडमिन्टन सङ्घ (ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम) लाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। साथै, उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण युवा खेलाडीहरूको उज्ज्वल र सफल भविष्यको कामना समेत व्यक्त गर्नुभएको छ।
सार्वजनिक तस्बिरमा मुख्यमन्त्री गोले स्वयं ब्याडमिन्टन कोर्टमा उत्रिएर र्याकेट समात्दै खेलको मज्जा लिइरहेको समेत देख्न सकिन्छ।





