जीटीएभित्र कार्यरत् कर्मचारीहरूको विभिन्न मागहरु लिएर राज्यका मुख्य सचिवलाई ज्ञापन

গোর্খাল্যান্ড_আঞ্চলিক_প্রশাসনের_অফিসিয়াল_সীলমোহর

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएभित्र कार्यरत् कर्मचारीहरूको हक, हित र सेवासम्बन्धी विषयलाई लिएर जीटीए कर्मचारी संगठनका केन्द्रीय प्रतिनिधि मण्डलले महत्वपूर्ण पहल गरेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको निर्देश अनुसार, डेपुटी चेयरम्यान राजेस चौहानको नेतृत्वमा प्रतिनिधि मण्डलले राज्यका मुख्य सचिवलाई कलकत्तास्थित नवान्नमा भेट गरी एक स्मरणपत्र पेश गरेका छन्। उक्त स्मरण पत्रमार्फत् जीटीएमा कार्यरत् कर्मचारीहरूको सेवा–सुरक्षा, स्थायीकरण, पदोन्नति, तलब–भत्ता, निवृत्तिभरण तथा अन्य प्रशासनिक सुविधासम्बन्धी विषयहरूमा यथोचित ध्यानाकर्षण गराइएको छ। लामो समयदेखि विभिन्न चुनौती र अन्योलको सामना गर्दै आएका कर्मचारीहरूको भविष्य सुनिश्चित गर्न राज्य सरकारले सकारात्मक पहल गरोस् भन्ने माग प्रमुख रूपमा उठाइएको छ। जीटीए अन्तर्गत कार्यरत् कर्मचारीहरू क्षेत्रीय प्रशासन सञ्चालनका मेरुदण्ड हुन्। उनीहरूको मनोबल उच्च राख्न र कार्यक्षमता अभिवृद्धि गर्न सेवा–सुविधामा स्पष्टता, समयमै निर्णय र नीतिगत स्थायित्व आवश्यक छ। यस पहलले कर्मचारीहरूको न्यायोचित मागप्रति सरकारको ध्यान केन्द्रित गराउने विश्वास व्यक्त गरिएको छ। कर्मचारी संगठनले संवाद र सहकार्यको माध्यमबाट समस्याको समाधान खोज्ने प्रतिबद्धता जनाउँदै जीटीएभित्र स्थायित्व, पारदर्शिता र सुशासन सुदृढ पार्न कर्मचारीहरूको भूमिका अझ सशक्त बनाउने अपेक्षा राखेको छ भनी केन्द्रीय समितिका अध्यक्ष सुवास छेत्रीले जनाएका छन्।

About Author

Advertisement