सोनादा: गोर्खाल्याण्ड क्षेत्राय प्रशासन र पश्चिम बंगाल राज्य ग्रामीण विभागको तर्फबाट रंगबुल धोतरिया रंगमुक समष्टिको धोतरिया बालासन गन्ति लाइनदेखि जुम्ला गाउँसम्मको गाड़ी कुद्ने सड़कको निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। उक्त रोड निर्माणको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानको बाहुलीबाट शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा दार्जिलिङ जिल्ला स्कूल बोर्डको पूर्व चेयरम्यान बिजयकुमार राई, पञ्चायत समिति सदस्य जीवन प्रधान,धोतरिया कलेजभेल्ली ग्राम पञ्चायतको पञ्चायत प्रधान अनिता तामाङ राई, पञ्चायत सदस्यहरु हिम्मत प्रधान र भिम राई, विभागीय अधिकारीहरुको उपस्थितिमा शिलान्यास गरिएको छ। यस शिलान्यास कार्यक्रमलाई दार्जिलिङ जिल्ला स्कूल बोर्डको पूर्व चेयरम्यान बिजयकुमार राई र जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले सम्बोधन गरेका थिए।

यस कार्यक्रममा पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत सदस्यहरु, समाजका प्रतिनिधिहरु, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरु, नारी शक्ति, युवा शक्ति लगायत अन्य भातृ संगठनहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस क्षेत्रमा रोड निर्माण हुने भएपछि स्थानीयहरुले यस क्षेत्रमा धेरै पार्टी आयो गयो तर कसैले पनि रोड बनाई दिएन तर जीटीए प्रमुख अनित थापाको नेतृत्वमा क्षेत्रीय सभासद राजेस चौहानको पहलमा रोड बनिने भएकोमा खुशी व्यक्त गरेका छन्। यसको साथै गाउँवासीको सपना पूरा भएको भन्दै स्थानीयहरुले जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासद राजेस चौहानलाई धन्यवाद दिएका छन्। यो सडक निर्माण कार्य सम्पन्न भएपछि धोतरिया बालासन गन्ति लाइनदेखि जुम्ला गाउँसम्मको यातायात सुविधाजनक हुने विश्वास गरिएको छ। यसले स्थानीय बासिन्दाहरूको दैनिक आवतजावत, आपतकालीन सेवा तथा विकासका अन्य गतिविधिहरूमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा वक्ताहरूले यस विकास योजनाले गाउँको समग्र प्रगतिमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ।










