सिलगढी: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा दार्जीलिङ पहाडका चालकहरूका विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागितामा चालकहरुको विभिन्न समस्याहरुलाई लिएर एक महत्वपूर्ण सभा पिन्टेल भिलेजमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डिपुटी चेयरम्यान राजेस चौहानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा चालकवर्गले भोग्दै आएका विभिन्न समस्या र चुनौतीहरूबारे गम्भीर छलफल गरिएको थियो।
सभामा उपस्थित प्रतिनिधिहरूले चालकहरूको विभिन्न समस्याको विषयहरूलाई प्रमुख रूपमा उठाएका थिए। लामो समयदेखि समाधान हुन नसकेका यी समस्याले चालकवर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर पार्दै आएको वक्ताहरूले बताएका थिए। विस्तृत छलफलपछि सभाले चालकवर्गको हितमा समस्याहरू समाधानतर्फ अघि बढ्ने उद्देश्यसहित केही महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। पारित प्रस्तावहरूलाई सम्बन्धित निकाय गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन समक्ष प्रस्तुत गरी छिटोभन्दा छिटो कार्यान्वयन गराउन सामूहिक रूपमा पहल गर्ने निर्णय पनि सभाले गरेको छ।

सभामा सहभागी सबै संगठनका प्रतिनिधिहरूले आपसी एकता र सहकार्यलाई अझ सुदृढ बनाउँदै चालकहरूको अधिकारका लागि संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। यस्तो खालको संयुक्त प्रयासले चालक वर्गका जायज मागहरू सम्बोधन हुने अपेक्षा गरिएको छ।










