मलाई शिक्षकहरुबाट राजनैतिक साथ होइन, शिक्षाको साथ चाहिन्छ। शिक्षामाथि राजनीति नगरौं: अनित थापा
दार्जिलिङ: शिक्षामा राजनीति नपसोस्। मलाई शिक्षकहरुबाट राजनैतिक साथ होइन, शिक्षाको साथ चाहिन्छ। शिक्षामाथि राजनीति नगरौं। उक्त बयान जीटीएको प्रमुख कार्यपाल अनित थापाले दिएका छन्। थापाले जीटीए क्षेत्रभरिका प्राथमिक शिक्षकहरुलाई लिएर आयोजना गरिएको शिक्षक दिवस समारोहमा शिक्षकहरुलाई सम्बोधन गर्दै थिए। उनले आफ्नो सम्बोधन मा भने, “आज प्राथमिक शिक्षकहरूसंग शिक्षक दिवस मनाउने मेरो एउटै उद्देश्य रहेको छ, म पहाडमा असल शिक्षाको खेती गर्न खेतीको बीज ठीक गर्नु चाहन्छु। यसमा मलाई तपाईहरुको सहयोग चाहिन्छ।पहाडको भविष्य तय गर्नु प्राथमिक शिक्षालाई नै ठीक गर्नु पर्छ। शिक्षाको खेतीलाई फस्टाउन दिनु हो भने शिक्षाको बीज नै ठीक गर्नुपर्छ, रुखलाई ठीक गर्छु भनेर हुँदैन। बिरुवालाई ठीकसंग मल जल गर्नु सकियो भने रुख राम्रो संग उम्रेर जानेछ।”

पहाडमा विभिन्न राजनैतिक दललाई समर्थन जनाउने शिक्षक संगठनहरु छन्। आजको समारोहमा सबै संगठनका शिक्षकहरूको उपस्थिति रहेको थियो। थापाले शिक्षकको राजनीतिमा अंश ग्रहण गर्ने अधिकार छ। कुनै पनि पार्टीलाई समर्थन गर्ने उनीहरूको अधिकार हो। तर उनले सबैलाई अपिल गर्दै भने, “पहाड अव्यवस्थित छ। व्यवस्थित पहाड बनाउने चिन्तामा म सदैव रहन्छु। आगामी पाँच वर्षमा प्राथमिक शिक्षालाई सुधार्ने मैले संकल्प लिएको छु। पहाडको शैक्षिक भविष्य प्राथमिक शिक्षकहरूको हातमा छ। शिक्षालाई राजनीति देखि टाडो राख्नु चाहन्छु। मलाई शिक्षकको राजनैतिक साथ होइन, शिक्षाको साथ चाहिन्छ। शिक्षा माथि राजनीति नगरौं।”
हिजो के भयो त्यता अब ध्यान नदिएर भविष्य कसरी सुधार्ने त्यतापटि काम गर्नेछु भन्ने कुरामा जोड दिँदै उनले घोषणा गरे, “जीटीए अधिनस्थ दार्जीलिङ्ग अनि कालेबुङ जिल्लाको शिक्षा व्यवस्थालाई ठीक गर्न दार्जीलिङ्ग जिल्ला अनि कालेबुङ जिल्ला शिक्षा बोर्डको अध्यक्षको नेतृत्वमा प्राइमरी हाई पावर्ड कमिटि बनाउनेछु। यो कमिटीले शिक्षामाथि काम गर्नेछ।”
पहाडका सबै शिक्षक शिक्षिकाहरुलाई शिक्षक दिवसको शुभकामना साथै अवकासप्राप्त शिक्षकहरुले विद्यार्थीहरूमाथि जुन लगानी गर्नु भयो ती सबैको निम्ति धन्यवाद दिँदै थापाले भने, “शैक्षिक क्रान्ति नै मेरो प्राथमिकता रहेको कुरा मैले विभिन्न मञ्चबाट दोहोराएको छु। आज अवकासप्राप्त शिक्षकहरूको संख्या देख्दा लाग्दैछ हाम्रो कतिपय विद्यालयहरुमा शिक्षकको कमी रहने रहेछ। शिक्षकबिना विद्यालयमा गुणात्मक शिक्षा कसरी स्थापित गर्नु सकिन्छ? विद्यार्थीहरुले गुणात्मक शिक्षा कसरी पाउने हुन? यही सोच्दैछु।
शिक्षालाई ठीक बाटोमा ल्याउनु पूर्वाधार निर्माणको साथमा, शिक्षक नियुक्ति गर्ने प्रक्रियालाई सिस्टममा ढाल्नु साथै शिक्षकको तालिम पनि मुख्य ठानेको छु। यदि पहाडलाई नयाँ उचाई सम्म पुर्याउनु हो भने पहाडको सरकारी विद्यालयहरुमा सुधार ल्याउनु नै पर्नेछ।”
शिक्षक दिवसको उपलक्ष्यमा शिक्षा विभाग -गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन, दार्जिलिङले शिक्षक दिवस एवं शिक्षक सम्मान समारोह -२०२२ समारोह आयोजना गरेको थियो। उक्त कार्यक्रम दार्जिलिङको गोर्खा रङ्गमञ्चमा आयोजना गरिएको थियो। कार्यक्रममा अवकाशप्राप्त,प्यारा र पेब्याण्डका प्राथमिक शिक्षक शिक्षिकाहरूलाई सम्मान गरियो। साथमा जीटीए क्षेत्रका १६ वटा विद्यालयहरूलाई श्रेष्ठ विद्यालयको उपाधि दिएर सम्मान गरियो। कार्यक्रममा अवकाशप्राप्त प्रधान अध्यापक केसाङ लामालाई ” स्वर्ण कलम ” पुरस्कारले विभूषित गरियो। उनी मिरिकको फुवागडी निम्न बुनियादी पाठशालाका प्रधान अध्यापक थिए। समारोहमा जीटीए मुख्य सचिव एस पुनबलाम, दार्जीलिङ्ग अनि कालेबुङ जिल्ला शिक्षा बोर्डका अध्यक्षहरु अनि शिक्षा विभागका कार्यकारिणी सभासद सञ्चवीर सुब्बाको विशेष उपस्थिति रहेको थियो।









