जीटीएको कार्यकारी सभासद अरुण सिञ्जीद्वारा घैयाबारी अस्पतालको निरीक्षण

IMG-20220801-WA0168.jpg

अस्पतालको विभिन्न समस्याहरूलाई लिएर सीएमओएचसित विभागीय सभा गर्ने

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीमा पर्ने घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको जीटीएको स्वास्थ्य विभागका कार्यकारी सभासद अरुण सिञ्जीले आज निरीक्षण गरेका छन्। घैयाबारी अस्पतालमा स्थनीहरूले धेरै असुविधा भोग्न परिरहेको र धेरै समस्याहरू रहेको कारणले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको निर्देशनमा भारप्राप्त कार्यकारी सभासद अरुण सिञ्जीले आज घैयाबारी अस्पतीलको निरीक्षण गरेका छन्। उनले अस्पतालको डाक्टरहरू, सुकना खण्ड स्वास्थ्य केन्द्रको स्वास्थ्य अधिकारी डाक्टर गुप्त लगायत घैयाबारी अस्पतालको कर्मचारीहरुसित भेटघाट गरी यहाँको विभिन्न समस्याहरू बुझेका छन्। यसावधि कतिपय समस्याहरू समाधान गर्नलाई फोनमार्फत् सीएमओएचसित पनि बातचीत गरेका छन्। कार्यकारी सभासद अरुण सिञ्जीले घैयाबारी अस्पतालको विभिन्न समस्याहरू लिखित रुपमा क्षेत्रीय सभासद नवराज छेत्रीमार्फत् पठाउने निर्देश दिएका छन् भने घैयाबारी अस्पतालको रोगी कल्याण समितिको सभापतिको रूपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई राखिनु पर्ने मौखिक निर्देश पनि दिएका छन्। उनले घैयाबारीको अस्पतालको विभिन्न समस्याहरू लिएर आगामी सप्ताह सीएमओएचसित विभागीय रूपमा सभा गर्ने भएको छ। अस्पतालको निरीक्षण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै कार्यकारी सभासद अरुण सिञ्जीले मैले विभागको जिम्मावरी लिएपछि सबैतिर भ्रमण गरिरहेको र स्वास्थ्य विषयहरूमा जानकारी लिएर विभागीय रूपमा रिभ्यु मिटिङ गर्ने र यसै विषयलाई लिएर आज घैयाबारी अस्पतालको निरीक्षण गरेको बताएका छन्। कार्यकारी सभासद अरुण सिञ्जीले यहाँको सानो तिनो समस्याहरू यही बसेर समाधान भएको छ भने कतिपय ठूलो समस्याहरू विस्तारै समाधान गर्दै जाने र यस अस्पताललाई अपग्रेड गरेर लानलाई सरकारसित भनेर कार्य गरिने पनि बताएका छन्। उनले यहाँ आएर हेर्दा धेरै समस्याहरू रहेको जसमा डाक्टर कम भएको, एन्बुलेन्स नभएको, फारमेसिस्ट नभएको तथा अन्य धेरै समस्याहरू रहेको र यसको लागि कार्य गर्ने साथै आगामी सप्ताह सीएमओएचसित विभागीय रूपमा सभा गर्ने भएको पनि जनाएका छन्। कार्यकारी सभासद अरुण सिञ्जीले पत्रकारहरूलाई सम्बोधन गर्दै संघ संस्थाहरू र राजनैतिक पार्टीहरूलाई अस्पतालभित्र आएर कर्मचारीहरू र बिमारीहरूलाई असुविधा हुने गरी आफ्नो फायदा र राजनैतिक फाईदाको लागि भिडियो नगरिदिने अनुरोध पनि गरेका छन्। त्यसरी नै घैयाबारी अस्पतालको डाक्टर एंव सुकना खण्ड स्वास्थ्य केन्द्रको एक्टिङ स्वस्थ अधिकारी डा एडी गुप्ताले कार्यकारी सभासदले भने अनुसार केही दिनमा अस्पतालको विभिन्न समस्याहरूलाई लिएर लिखित रूपमा क्षेत्रीय सभासद नवराज छेत्रीमार्फत् पठाउने बताएका छन्। उल्लेखनीय छ घैयाबारी अस्पतालमा अहिले केवल दुईजना डाक्टर छन् तर दुवैजना सुकना खण्ड स्वास्थ्य केन्द्रमा पनि हेर्नु पर्ने अवस्था रहेको छ हालाकि यहाँ तीनजना डाक्टरहरू हुन पर्ने बताइएको छ। त्यसरी नै यहाँ नर्सहरू कम रहेको साथै घैयाबारी र बागौरा दुवैपट्टि हेर्नु पर्ने बाध्यता रहेको छ।

जीटीएको विभागीय सभासद अरुण सिञ्जीले घैयाबारी अस्पतालको निरीक्षण गरेको समय तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत घैयाबारीको बुथ सभापति महेश छेत्री लगायत अन्यहरू पनि उपस्थित रहेका थिए।

About Author

Advertisement