गान्तोक। सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आज सोमबारियाको सीएचसी र पीएचसीको निरीक्षण गर्दै मनसुन तयारीलाई लिएर औषधि भण्डारको निरीक्षण गरे। निरीक्षणको क्रममा जिल्लापाल ठटालले प्राकृतिक र आकस्मिक प्रकोपको जोखिममा पर्ने क्षेत्रमा विशेष गरी मनसुनमा कसरी सतर्क रहन सकिन्छ भन्ने विषयमा विशेषज्ञहरूसँग सरसल्लाहगरे। उनले विपद्को समयमा आकस्मिक स्वास्थ्य टोली गठन गर्न पनि सुझाव दिए। चिकित्सा अधिकारी तथा कर्मचारीहरुसँगको अन्तरक्रियामा उनले विभिन्न सरुवा तथा नसर्ने रोगहरुबारे जनचेतनामुलक अभियानको महत्वबारे जानकारी गराउँदै यस्ता अभियानहरु नियमितरूपमा सञ्चालन हुनुपर्ने विषयमा जोर दिए। आकस्मिक स्थितिका निम्ति मक ड्रिल र पीडितहरुको उपचारका लागि आधारभूत सामुदायिक तालिम समेत गरिनुपर्ने सुझाउ दिए।










