कोलकाताः कोलकाताको जादवपुर विश्वविद्यालयमा बुधवार राति स्वप्नदीप कुन्डू नाम गरेको प्रथम वर्षको छात्रको बालकनीबाट झरेर मृत्यु मामिलामा उसका पिता रमा प्रशाद कुन्डूले हत्याको शिकायत दर्ता गराएका छन्। उनले जादवपुर थानामा दिएको आफ्नो शिकायत पत्रमा होस्टलमा बस्ने अन्य छात्रहरू विरूद्ध रेगिङ र छोरालाई ज्यानले मारेको आरोप लगाएका छन्।
उनको लिखित शिकायतको आधारमा पुलिसले हत्याका धाराहरू अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ। पुलिसले अहिलेसम्म १० देखि १५ छात्रहरूसित सोधपुछ गरिसकेको छ, यद्यपि, कसैलाई हिरासतमा लिइएको छैन। स्वप्नदीपका पिताले भने, मलाई मुख्यमन्त्री ममता ब्यानर्जीले पनि फोन गरेकी थिइन्। मैले सीएमसित पनि रेगिङको शिकायत गरेको छु। मुख्यमन्त्रीले मेरो छोरा त फर्काउन सक्दिन तर जोपनि दोषी छन्, उनीहरूलाई निश्चित रूपमा सजाय दिइनेछ, जाँच ठीकले होस् यसको निम्ति म ठोस निर्देश दिइरहेछु भनी मलाई आश्वस्त गरेकी छन्।
स्वप्नदीप विश्वविद्यालमा बांग्ला विभागको फर्स्ट ईयरको छात्र थियो। दुई दिनअघि मात्र छात्र होस्टलमा आएको थियो। सोमवारदेखि नै बांग्ला विभागको क्लास शुरू भएको थियो तर ठाउँ नपाइएको कारण आफ्नो साथीको साथ एउटै कमरामा बसिरहेको थियो। त्यही सीनियर्सले उसको साथ ऱ्यागिङ गरे। बुधवार राति बालकनीबाट झर्नअघि उसले आफ्नी आमालाई फोन गरेको थियो र मलाई यहाँ राम्रो लागिरहेको छैन, आएर मलाई लैजाउँ भनेको थियो। यसपछि उसले आफ्ना सहपाठीहरूलाई म गे होइन भनिरहेको थियो। बिहिवार बिहान उसको मृत्युपछि भएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा शरीरमा मदिरा अथवा अन्य कुनैपनि संदिग्ध पदार्थको प्रमाण पाइएको छैन।










