सिलगढी: भोलि २७ दिसम्बर जातीय कवि अगमसिंह गिरीको जन्मजयन्तीl आज संसद राजु बिष्टले यिनै जातीय कविलाई सम्झिएका छन्l उनले प्रेस ,विज्ञप्ति जारी गरेर यसरी सम्झिएका छन्, ‘भारतको दार्जीलिङ भेकको आकाशमा स्थापित त्यसताकका नौलाख ताराहरूमध्ये एक चहकिलो ताराको रूपमा २७ दिसम्बर १९२७ मा उदाएका अगमसिंह गिरीको टलकले हाम्रो यस भेकलाई मात्रै नभएर विश्वभरका सम्पूर्ण नेपालीभाषी एवं नेपाली संस्कृतिधारकहरूलाई उद्वेलित र मन्त्रमुग्ध पाऱ्यो। जातिय अस्तित्व र अस्मिताका कविको रूपमा चिह्निएका कवि अगमसिंह गिरी आफ्नो प्राकृतिक परिवेश एवं सामाजिक-राजनीतिक अवस्थासँग मुछिएका अनि यहाँका पीडा, आशा-निराशा अनि उच्छ्वासले भरिएका हाम्रा अग्रज स्रष्टा हुन्।‘
उनले भनेका छन्, “अगमसिंह गिरीलाई दार्जीलिङ वा भारतीय गोर्खा समाजमा मात्र सीमित राख्नु उनको विराट कवि व्यक्तित्वको अपमान गर्नु हो। तर पनि उनी फुत्किन सक्दैनन् दार्जीलिङको भुगोलबाट, चौरस्ताबाट, मोहब्बत गल्लीबाट, भानुभक्त स्कूलबाट र चोकबजारबाट। अगमसिंह गिरी अगम व्यक्तित्व हुन् नेपाली साहित्यका, नेपाली वाङ्मयका, नेपाली जनजीवनका। भनी लेख्छन् हाम्रा सुविख्यात साहित्यिक शरद प्रधानले। हो पनि, किनकि उनका रचनाहरूको मूल-स्वर भारत देशभरका र विशेषगरि हाम्रो भेकमा बसोबासो गर्ने हामी गोर्खाहरू स्वर हो। उनका रचनाहरू, चाहे त्यो “माटोको माया बिर्सेर यहाँ, बाँचेर के भयो सार…” होस्, “तिमी त नचिने भएछौ…” होस्, वा “नौलाख तारा उदाए…” होस्, उनका रचनाहरूमा हामी गोर्खाहरूको पीड़ा, भोगाई र आकांक्षाहरू अभिव्यक्त भएको पाउँछौँ।‘’
सांसद राजु बिष्ट अझ भन्छन्, ‘‘उनका रचनाहरूमा हाम्रो जाति र समाजको तत्कालीन अवस्था, हामीमाझ रहेका विसंगति, निराशा, हाम्रा आकांक्षा, हाम्रा सपना अनि कर्तव्यको अनुभूति वर्तमानले गर्न सक्छ। ४४ वर्षको अल्पायु लिएर आएका साहित्यिक विभूति अगमसिंह गिरीको ‘मेरो बँचाइको एक दिन’ शीर्षकको कविताको केही अँश यहाँ उद्धृत गर्न उपयुक्त ठान्दछु:
“मलाई बाँच्न यहाँ –
एउटै दिन भए पुग्छ।
धेरै वर्ष फुलेको
अल्छी आयु
निष्क्रियताले निलेको
निश्चल/सुषुप्त/अकर्मण्य
चाहिएन बूढा दिनहरू
…
मेरा एउटै-एउटै दिन
सकारात्मक सपना बोकेर आऊन्
जीवनको शाश्वत परिपूर्णता लिएर
मेरो बँचाइलाई
अर्थ दिन आउन्
…
मैले मेरो जातिलाई सक्रिय माया जनाएको
एउटा अर्थपूर्ण बेला
यदि छ भने मसँग बाँचोस्
मैले असहायहरूलाई दिएको
एउटा मिठो दिन
यदि छ भने मसँग बाँचोस्
चाहिएन मलाई सपनाहरूमै रँगाल्न लाउने
खुइलिएका दिन र नाङ्गिएका रातहरू
मलाई बाँच्न यहाँ –
एउटै दिन, फगत एउटै दिन भए पुग्छ।“
‘’कवि अगमसिंह गिरीका उपरोक्त कवितांशले मलाई आफ्नो जीवनको हरेक दिन त्यसैगरि बाँच्न उत्प्रेरित गर्दछ, र आफूले यो नश्वर शरीर त्याग्दा मेरो जीवनको एकै दिन भए पनि, भावी सन्ततिले याद गरिराख्न सक्ने होस् भन्ने कामना गर्छु। बिडम्बना!!! उहाँ दिवंगत हुनुभएको यतिका वर्षहरू बितिसक्दा पनि उहाँका रचनाहरूमा अभिव्यक्त हाम्रो जातिका चिन्ता र पीड़ाहरू यथावत नै छन्। केही स्वार्थी व्यक्तिहरूको कारणले हाम्रो जाति, हाम्रो समाज झनै गाँजिएको छ’’, सांसद राजु बिष्टले यसो भनेका छन्। उनले अझ भनेका छन्, ‘‘आज हाम्रा जातिय अस्तित्वका कवि अगमसिंह गिरीको जन्मजयन्तीको अवसरमा कवि प्रति सच्चा सम्मान एवं श्रद्धाञ्जली उनको मन-मस्तिष्कलाई त्यतिबेला बिथोल्नसम्म बिथोलेका गोर्खाहरूको पीडा र चिन्ताको समाधान गरेर मात्रै दिन सक्नेछौँ। यस दिशामा हामी सबै मिलेर अगाडि बढ़्न सकौँ, र हाम्रो जातिले लामो समयदेखि भोग्दैआएको पीडा, अनि सहँदैआएको व्यथाको निराकरण गर्न सकौँ, यस्तो आशीष हामीलाई प्राप्तहोस् परमलोकमा उनको निवासबाट। यही कामना छ। शत् शत् नमन् कवि अगमसिंह गिरीलाई!!’’








