जल जीवन मिशन अन्तर्गत खरसाङको रोहिणीमा २ करोड़ ३० लाख बराबरको लागत खर्चमा पाँचवटा पानीको योजनाहरूका शिलान्यास

म जनताको सेवा गर्नलाई राजनीतिमा आएकी हुँ: कल्पना प्रधान

खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणीमा जल जीवन मिशन परियोजनाको पाँचवटा योजनाहरूको शिलान्यास गरिएको छ। जम्मा लगभग २ करोड़ ३० लाख रुपियाँ बराबरको लागतमा रहेको उक्त जल मिशन अन्तर्गत पाँचवटा पानीको योजनाहरूका शिलान्यास जीटीएको मातृ एवं शिशु कल्याण विभागकी कार्यकारी सभासद एंव लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सभासद कल्पना प्रधानको बाहुलीबाट गरिएको छ। खरसाङदेखि केही मुनि रहेको रोहिणीको गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्षता भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको रोहिणी बुथ कमिटीको सभापति प्रदीप प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएको कार्यकारी सभासद एंव क्षेत्रीय सभासद कल्पना प्रधान उपस्थित रहेका थिए।

सांगठनिक सचिव मिलन रसाईलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पीएचई विभागको सहायक अभियन्ता सागर राईले राखेका थिए भने पार्टीको तर्फबाट भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव गजेन प्रधानले राखेका थिए। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति केन्द्रीय सभापति अनु प्रधान, खरसाङ महकुमा समितिको सभापति एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ महकुमा समितिको सचिव एंव जीटीएको मनोनित सभासद प्रमाण रसाईली, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, भीम लामा, पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मंग्राती आदिले वक्तव्य राखेका थिए।

कार्यक्रममा रोहिणी क्षेत्रको पक्षबाट भीम लामा, नारी शक्ति केन्द्रीय सभापति अनु प्रधान, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, क्षेत्रीय सभासद कल्पना प्रधान, मनोनित सभासद प्रमाण रसाईली, विभागीय कार्यकारी अभियन्ता मणिरत्न मंग्राती, समष्टी स्तरीय नेतृत्वहरूलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा जल जीवन मिशन अन्तर्गत घर घरमा पानी पुर्याउने कार्य अन्तर्गत आज भएको पाँचवटा पानीको योजनाहरूका शिलान्यास कार्यपछि काम गर्ने ठेकेदारहरूलाई आ-आफ्नो क्षेत्रका जनतालाई ठोकेदार चिनाउने कार्य पनि गरिएको छ।

कार्यक्रममा प्रज्वल थापाद्वारा गीत प्रस्तुत गरिएको थियो भने नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको सम्भाषण राख्दै जीटीएको कार्यकारी सभासद एंव क्षेत्रीय सभासद कल्पना प्रधानले जनताको सेवाको लागि आफु राजनीतिमा आएको बताउँदै पार्टी अध्यक्ष अनित थापाले आफुलाई जनताको सेवा गर्नो मौका दिएको बताएकी छन्। उनले चुनाव अघि गरेको वाचाहरू पूरा गर्दै म हरेक जनताको दु:खमा पुग्न चाहान्छु भनी बताएकी छन्। उनले रोहिणीलाई पर्यटकीय क्षेत्रमा विकसित गराएर लानलाई कार्य गर्ने अनि यसको लागि योजनाहरू तयार पारेको र यस विषयमा पर्यटन विभागको कार्यकारी सभासदसित कुरा गरिसकेको बताउँदै रोहिणी क्षेत्रमा होम स्टेहरू निर्माण कार्यको लागि पहल गरिने, रोहिणी झीललाई सुन्दरीकरण गरी नौका सञ्चालन गर्ने, रोहिणीको गेस्ट हाउसको सुन्दरीकरण कार्य पूरा भएकोले अब यसलाई सञ्चालन ल्याउन कार्य गरिने र पानी नपुगेको गाउँहरूमा पनि पानी चाढ़ै लाने बताएका छन्। उनले आज शिलान्यास गरिएको पानीको योजनाहरूका काम असल प्रकारले हुन पर्ने साथै ठेकेदारहरूले स्थानीय जनतासित मिलेर कार्य गर्ने साथै जनताले पनि ठेकेदारहरूलाई सहयोग गर्ने पर्ने सुझाव दिएकी छन्।

कार्यकारी सभासद कल्पना प्रधानले अघि भनिन् -‘आज शिलान्यास गरिएको पानीको योजनाहरूका काम असल र गुणस्तरीय हुनुपर्छ। यसको लागि जनताले पनि कामको निगरानी गरेको हुनुपर्छ। रोहिणीमा उत्पादन गरिने धानले पर्यटकहरूलाई आकर्षित गराएको राम्रो हो। यसको लागि काम गर्नुपर्छ र यदि कुनै समस्या परे मलाई भन्नु म विभागीय अधिकारीहरूलाई बोलाएर समस्याको समाधान गर्न प्रयास गर्नेछु।’

उनले अझ भनिन् -‘रोहिणी क्षेत्रमा स्टाभेरीको खेती पनि हुन्छ र यसलाई पनि बढाएर लानुपर्छ। रोहिणीमा जुनियर हाई स्कूल भएको छ। मैले काम विस्तारै गरिरहेछु अनि हतार पनि गर्नु हुँदैन। काम विस्तारै हुँदै जान्छ र सबै समस्याहरूका समाधान हुँदै जानेछ।’ आज शिलान्यास गरिएको पानीको योजनाहरूमा खरसाङको रोहिणी अन्तर्गत मार्चेबुङमा २३ वटा घरहरूको लागि ६० लाख ३७ हजार, ७ सय २३ रुपियाँ लागत खर्चमा, लोवर चिसोपानीमा ८५ घरहरूको लागि ६९ लाख ९२ हजार ४ सय २२ रुपियाँको लागत खर्चमा, लाप्चेरको लागि 84 घरहरूको लागि ६३ लाख ४४ हजार १ सय १८ रुपियाँ लागत खर्चमा, रोहिणी चियाबारीका गाउँरूमा ४२५ घरहरूको लागि २७ लाख ६८ हजार ५ सय ८२ रुपियाँ लागत खर्चमा अनि यसै समष्टी अन्तर्गत अम्बटेको सिरिसेमा १२० घरहरूको लागि ९ लाख ३४ हजार ६ सय ५० रुपियाँको लागत खर्चमा काम भईरहेको छ।

आजको शिलान्यास कार्यक्रममा गाड़ीधुरा पुलिस आउट पोष्टको ओसी सदानन झा, भागोप्रमो केन्द्रीय सदस्य सन्तोष लामा, खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामु, लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, नारी शक्ति समष्टि सभापति रेजिना थिङ लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

Advertisement