गान्तोक: आगामी २६ देखि २८ अप्रेल २०२६ सम्म आयोजना हुने ‘सिक्किम कला एवं साहित्य महोत्सव’को तयारी तीव्र पारिएको छ। शिक्षा विभाग अन्तर्गतको विद्यार्थी कल्याण बोर्डले आज महोत्सवलाई सफल बनाउन प्रारम्भिक समन्वय बैठक आयोजना गरेको हो।
उक्त महोत्सव विश्वव्यापी रूपमा चर्चित Jaipur Literature Festivalका निर्माता तथा संस्थापक संस्था Teamwork Arts प्रालिसँगको सहकार्यमा आयोजना गरिने जानकारी बैठकमा दिइयो।
विधायक आदित्य गोलेको अध्यक्षतामा सम्पन्न बैठकमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, आबकारी विभागकी सचिव यस्से योङ्गदा, पर्यटन विभागकी सचिव होण्डाला ग्याल्छेन, गान्तोकका जिल्लापाल तुषार जी. निखारे, एडीसी सिसुम भोटिया, मुख्यमन्त्रीका एपीएस छिरिङ वाङ्चुक लेप्चा, विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेल शेर्पालगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा आयोजक टोलीसँग प्रारम्भिक योजना, व्यवस्थापन संरचना तथा विभिन्न विभागबीच समन्वयका विषयमा विस्तृत छलफल भएको जनाइएको छ। सहभागीहरूले महोत्सवलाई सिक्किमका युवाहरूका लागि महत्वपूर्ण सांस्कृतिक तथा साहित्यिक मञ्चका रूपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलका क्रममा समावेशी सहभागिता सुनिश्चित गर्ने, विद्यालय तथा कलेजका विद्यार्थीलाई प्रत्यक्ष रूपमा जोड्ने, स्थानीय कला–साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने र बौद्धिक बहसलाई प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिइएको थियो।
आयोजक पक्षका अनुसार महोत्सवले सिक्किमलाई अन्तर्राष्ट्रिय साहित्यिक नक्सामा स्थापित गर्ने अवसर प्रदान गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।








