जलपाईगढी: युवा तृणमूल नेता पापन चकलादारमाथि करोडौं रुपियाँ बराबरको जमीन कब्जा गर्ने र परिवारहरूलाई उत्पीडन गरी विस्थापित गर्न खोजेको आरोप लगाइएको छ। पीडितहरूले बारम्बार पुलिसमा उजुरी गरे पनि गुनासोलाई वेवास्ता गरिएको आरोप परिवारले लगाएको छ। ललित सरकार र प्रफुल्ल सरकार जलपाईगढी जिल्लाको मैनागढी ब्लकस्थित उल्ला डाबरी गाउँका बासिन्दा हुन्। उनीहरू लामो समयदेखि उक्त गाउँमा बस्दै आएका छन्। उनीहरूसँग लगभग २२ बिघा जमीन छ, जहाँ उनीहरूले खेती गर्दै आएका थिए। केही वर्षअघि राष्ट्रिय राजमार्ग प्राधिकरणले फोरलेन सडक निर्माणका लागि जमीन अधिग्रहण गर्न थाल्यो। त्यस समयमा सरकार परिवारको करिब डेढ बिघा जमीन अधिग्रहण गरियो र मुआब्जाका रूपमा ५९ लाख रुपियाँ दिइयो।
त्यसै समयमा ललित र प्रफुल्ल सरकारबीच पारिवारिक विवाद चलिरहेको थियो। पापन चकलादारले यो स्थितिको फाइदा उठाएको आरोप छ। उनले ललित सरकारको परिवारलाई उत्पीडन गरेको, घर जलाएको र मुद्दा दायर गराएको बताइएको छ। त्यस घटनापछि ललित सरकार आफ्नो परिवारसहित जेल गएका थिए। चार वर्षदेखि उनीहरू बेघर छन्। यस्तै, पापन चकलादारले प्रफुल्ल सरकारलाई २४ लाख रुपियाँ ऋण लिन बाध्य बनाएको आरोप पनि लगाइएको छ। जसमध्ये १८ लाख रुपियाँ पापन र उनको परिवारको नाममा ब्यांक ट्रान्सफर गरिएको थियो, जबकि बाँकी ६ लाख रुपियाँ कागजमा लेखिएको थियो। पछि, थप १० लाख रुपियाँ माग गर्दै प्रफुल्ल सरकारमाथि धम्की र जबर्जस्ती गरियो। जब प्रफुल्लले आफ्नो पैसा फिर्ता मागे, तब फेरि उत्पीडन शुरु ,भएको आरोप छ। अन्ततः, प्रफुल्ल सरकारले थानामा उजुरी गरे। उजुरी फिर्ता गर्न दबाब दिन पापन आफ्नो परिवारसहित प्रफुल्लको घरअगाडि धरणामा बसे। ललित सरकारले आफ्नो जन्मभूमि फर्कन धेरै तृणमूल नेताहरूसँग अपिल गरे। जब त्यो असफल भयो, उनले उच्च न्यायालयमा न्यायको लागि गुहार गरे। केही समयअघि उच्च न्यायालयको आदेशपछि उनीहरूले आफ्नो जमिनमा घर बनाउन शुरु गरेका थिए, तर फेरि उत्पीडन शुरु भएको बताइएको छ। पीडित परिवारले पटक पटक मैनागढी पुलिस स्टेशनमा गएर उजुरी गरे पनि कुनै कारबाही नभएपछि शुक्रबार दिउँसो पुलिस अधीक्षककोमा जान बाध्य भएको बताएका छन्। पुलिस अधीक्षकले उचित कारबाही गर्ने आश्वासन दिएको उनीहरूको भनाइ छ। घटनासँग सम्बन्धित प्रश्नमा तृणमूलका मैनागढी ब्लक अध्यक्ष शिवशंकर दत्तले भनेका छन्, “पापन चकलादारको तृणमूलसँग कुनै सम्बन्ध छैन। पुलिसले आरोपहरूको अनुसन्धान शुरु गरेको छ। यदि कोही दोषी देखियो भने पक्राउ पर्छ, र पार्टी यसको जिम्मेवार हुने छैन।” युवा तृणमूलका जिल्ला सचिव पापन चकलादारले जमीन कब्जा र अन्य आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले भनेका छन्, “यो सबै झुठो हो। मलाई ललित सरकारले आक्रमण गरेपछि नर्सिङ होममा भर्ना गरिनु परेको थियो।” पापनले आफ्नो प्रभाव क्षेत्र रहेको दाबी गरेका छन्।









