सिङ्ताम: छुजाचेन निर्वाचान क्षेत्रको सुडुङलाखा जीपीयूअन्तर्गत १ सुन्तले दर्पणे वार्डकी स्वतन्त्र पञ्चायत उम्मेद्वार श्रीमती मिना राईले आफ्नो वार्डमा ९५ प्रतिशत जनताले साथ र समर्थन दिइरहेकोले आफ्नो जित निश्चित रहेको बताएकी छन्। उनले आफ्ना वार्डको जटिल समस्याहरु स्कूल रोड, पिउने पानी, मन्दिर निर्माण कार्य पूरा गराउने तथा सहुलियत एंव विकासहरु कसैलाई पक्षपात नगरी सबैलाई बराबरी तथा जायज गाउँले जनतालाई वितरण गर्ने जनाएकी छन्। उनले आफ्ना वार्डका मतदाताहरुलाई लौरोको चिन्हमा भारीमत दिएर आफूलाई विजय गराउने अपील गर्दै जनताले आफूमाथि गरेको विश्वासलाई कहिले घात नगर्ने अनि आशालाई पनि कहिले कसैलाई निराशा नपार्ने जनाइन्। २०२२ को सर्वाधिक दूध उत्पादक पुरस्कार विजेता रहेकी तथा २ लाख रुपियाँको नगद पुरस्कार मुख्यमन्त्री पी. एस. तामाङको बाहुलीबाट ग्रहण गरेकी कृषक मिना राईले एसकेएम सरकारले यसपालीको पञ्चायत चुनाउलाई स्वतन्त्र बनाइदिएकोले आफूले पनि चुनाउ मैदानमा उत्रिने अवसर पाएकोमा हर्ष व्यक्त गर्दै मुख्यमन्त्री श्री प्रेम सिंह तामाङप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।











