९ फरवरीः बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पहिलो म्याचमा पहिलो दिनको खेल भारतको नाममा रह्यो। नागपुरको विदर्भ क्रिकेट एसोसिएशन मैदानमा आजदेखि शुरु पहिलो टेस्ट म्याचको पहिलो दिन अष्ट्रेलियाको पहिलो ईनिंग्स केवल १७७ रनमा समाप्त भयो। जवाफमा भारतले दिनको खेल समाप्त हुँदासम्म केएल राहुल (२०)-को विकेट गुमाएर ७७ रन बनायो। कप्तान रोहित शर्मा ६९ बलमा ९ वटा चौका र एउटा छक्काको साथ ५६ रनमा अविजित छन्। यसबाहेक आर अश्विनले खाता खोलेका छैनन्। कप्तान रोहितसँग पहिलो विकेटको निम्ति ७६ रनको साझेदारी गरेपछि राहुल अष्ट्रेलियाई स्पिनर टड मर्फीको शिकार बने।
यसअघि रविन्द्र जडेजा र अश्विनको स्पिन आक्रमण अघि अष्ट्रेलियाले आत्मसमर्पण गऱ्यो। जडेजाले सर्वाधिक ५ र अश्विनले ३ विकेट हासिल गरे। आज टस जितेर पहिला ब्याटिंग गर्ने अष्ट्रेलियाई कप्तान प्याट कमिन्सको फसेला सरासर गलत साबित भयो अनि स्कोरबोर्डमा २ रन पुग्दासम्म दुईजना ओपनर डेविड वार्नर (१) र उस्मान ख्वाजा (१) आउट भइसकेका थिए। यी दुईलाई क्रमशः मोहम्मद शमी र मोहम्मद सिराजले आउट गरे। त्यसपछि मार्नस लाबुशेन (४९ रन), स्टीव स्मिथ (३७), एलेक्स केरी (३६) र पीटर हेण्ड्सकम्ब (३१)-ले लड़ाइँ गरे पनि टीमलाई ठूलो स्कोरसम्म पुऱ्याउन सकेनन्। लगभग ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका जडेजाले अश्विनसँग मिलेर अष्ट्रेलियाको ब्याटिंग क्रमलाई तहसनहस पारे।










