झापा: मोरङको बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेका छन्। चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको बृद्धले बताएका हुन्। उनले चारदिन जङ्गलमै रात कटाएका थिए। बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो। उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी काफ्ले तथा बेलबारी नगरपालिकाका सन्तोष विकसहितको टोलीले उद्धार गरेको थियो। उद्धारपछि उनलाई बेलबारी नगर अस्पतालमा उपचार गराइएको छ। वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेका थिए। बेलबारी नगरपालिका वडा नम्बर ९ की अध्यक्ष सुनिता चौधरीका अनुसार बेलबारी ७ स्थित एक आफन्त कहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए। जेठो छोरासँग बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारका सिलसिलामा रहेको बताइएको छ। एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीस्थित आफ्नाको घरबाट हिँडेका वृद्धलाई त्यसपछि जंगलमा छाडिएको हुनसक्ने वडाध्यक्ष चौधरीले जानकारी दिइन्। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी इन्स्पेक्टर तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी भइरहेको छ। सेतै फुलेका दाह्री र कपाल रहेका वृद्ध पातलो टिसर्ट र हाफपाइन्टमा फेला परेका थिए। उनले चार दिनदेखि पानी मात्र पिएर बसेको बताएका छन्। यसैबिच ति बृद्धलाई मंगलबार साँझ सुन्दरहरैचा नगरपालिकाको जिम्मा लगाईएको छ। उनको ठेगाना पत्ता लागेपछि सुन्दरहरैचाका नगरप्रमुख केदार गुरागाँई सहितको टोलीले ति बृद्धालाई जिम्मा लिएका हुँन।









