च्याम्पियन्स लीगःमिलान डर्बी जितेर इण्टर मिलान फाइनलमा

IMG-20230517-WA0120.jpg

१७ मईः इण्टर मिलानले १३ सालको दीर्घ प्रतीक्षापछि यूएफा च्याम्पियन्स लीगको फाइनलमा स्थान बनायो। अर्जेण्टिनाई स्ट्राईकर लौटारो मार्टिनेजको एकमात्र गोलको साथ सेमिफाइनल राउण्डको दोस्रो लेगमा एसी मिलानलाई १-०-ले पराजित गरी इण्टरले फाइनलको टिकट हासिल गऱ्यो। यसअघि एसी मिलानको होम ग्राउण्डमा खेलिएको पहिलो लेगमा २-०-ले जीत हासिल गरेको हुनाले समग्रमा इण्टर ३-०-ले विजयी भयो। अब रियल म्याड्रिड या म्यानचेष्टर सिटी विरुद्ध खेलिने फाइनलमा इण्टर मिलान निश्चित रूपले अण्डरडगको रूपमा मैदानमा ओर्लिनेछ तर प्रतियोगितामा अहिलेसम्मको अभियानलाई ध्यानमा राखेर इटलीको यस टीमलाई परास्त गर्नु त्यति सजिलो पनि हुनेछैन।

आफ्नो होम ग्राउण्डमा २ गोल खाने एसी मिलानअघि यस म्याचमा ठूलो अन्तरले जीत हासिल गर्ने चुनौती रहेको थियो तर टीमले आफ्नो होम ग्राउण्डमा उल्टा १ गोल खायो। म्याचमा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने इण्टर मिलानको निम्ति एकमात्र गोल लौटारो मार्टिनेजले मध्यान्तर पछि छिराए। सब्स्टीट्यूड खेलाड़ी रोमेलु लुकाकुसँग असाधारण तालमेलको साथ अर्जेण्टिनाई स्ट्राईकरले ७४औं मिनटमा विपक्षी गोलकीपर माइक मेगननलाई परास्त गरी इण्टरलाई फाइनलमा पुऱ्याए। म्याचमा एसी मिलानले पनि गोल गर्ने केही असल मौकाहरू बनाएको थियो तर सटीक फिनिशिंगको कमीले गर्दा टीमले गोल दर्ता गर्न सकेन। अब बुधवार राति खेलिने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा दुई हेभिवेट टीम रियल म्याड्रिड र म्यानचेष्टर सिटीबीच भिड़न्त हुनेछ। यी दुई टीमबीच यसअघि रियलको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याच १-१-ले ड्र रहेको थियो।

About Author

Advertisement